Jump to content

Page:Ritubichar.pdf/15

From Nepali Proofreaders
Revision as of 15:17, 19 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?

८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥

८१
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी ॥

८२
बोलने उडने लाखौं खिलौना काखमा धरी ।
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥

८३
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥

८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन् ॥

८५
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥

८६
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥

८७
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैं थाले गुण कृत्य जमाउन ॥