५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥
५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥
५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥
५६
वसन्तले बुनी आफैं मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
संसार जीवको रागी वासना झैं थरी-थरी ॥
५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
५९
कुनै राता, कुनै सेता, पहेंला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥
Page:Ritubichar.pdf/12
Appearance
This page has been proofread
