Jump to content

Page:Ritubichar.pdf/9

From Nepali Proofreaders
Revision as of 11:34, 18 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

२५
पृथिवी छन् शुगा-रङ्गी पिपिराहरुले गरी ।
हरियो रेशमी सारी लायेकी प्रमदा-सरी ॥

२६
वनमा वागमा राम्रा पुष्प लाखौं थरी फुले ।
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले ॥

२७
आफनू शिल्प-सौन्दर्य-महिमाको प्रदर्शिनी ।
खोलिन् प्रकृतिले लाखौं फूलमा मनमोहिनी ॥

२८
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ ॥

२९
बेली, जाई, जुही, चम्पा, चमेली, मधु-माधवी ।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि ॥

३०
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती ।
साराको भिन्न भिन्नै छ वासना 'रूप' आकृति ॥

३१
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना ।
एकै प्रवाहमा चल्छन् धन्य हो! विधि-कल्पना ॥

३२
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै ।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै ?

३३
तस्तै सुवासना-पूर्ण पुष्पको तुल्य जीवनी ।
सृष्टि-सौन्दर्यका निम्ति चाहन्छन् देवता पनि ॥