Jump to content

Page:Munamadan.pdf/38

From Nepali Proofreaders
Revision as of 15:09, 9 May 2025 by Prty (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

दुई दिल मिली फुलेकी बेली, मग्मग चमेली,
बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,
जोबनका गालामा लाजको लाली फुलेको गुलाब,
पानामा सेता सुनका अक्षर, चम्पक किताब,
पहाड-किल्ला, चूली उपल्ला श्रीपेच-सरोज,
रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,
वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,
पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,
त्यो देशभित्र त्यो सानो घर झल्झली फिर्दछ,
बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ,
सम्झँदिहुन् ती डाँडाकी जून, आमाले मलाई,
वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई !
तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,
ज्यानको दान तिमीले दियौ, म तिर्न सक्तिनँ,
सधैँको ऋणी, म तिर्न सक्तिनँ !
दुइटा मैला सुनका थैला वनमा गाडेको,
यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,
यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,
यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।"
भोटेले भन्छ,"के गर्छ मैले पहेँलो सुनले ?
रोपेर सुन उम्रन्न क्यार ? के गर्छ सुनले ?
रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,
बालक मेरा यी छोराछोरी, आमाले छाडेको,
के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको,
यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,
आकाशमाथि जहान मेरो बादल छ गहना !"