Jump to content

Page:Munamadan.pdf/37

From Nepali Proofreaders
Revision as of 15:05, 9 May 2025 by Prty (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

दूबोको बारी त्यो टुँडिखेल रूखले घेरेको,
धररा उठी शहरमाथि गजूर भिरेको,
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,
त्यो कान्तिपुरी, केवँराकेश उज्याला सुन्दरी,
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका,
विचित्र त्यस्तो त्यो चित्रकारी, झ्याल र ढोकामा,
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा,
त्यो सानो घर पीपलनिर, भ्यालमा मुनियाँ,
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ,
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,
कौसीको जून, गमलामाथि फूलको झुलाइ,
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,
क्या राम्रा बच्चा, क्या राम्रा पाठा, खेलमा मगन,
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्–
"हरियो भयो डाँडाको मुख फूल फूले वनमा,
टाढाको घर झल्केर आयो हे दाजु ! मनमा,
कलिलो, राम्रो पालुवा होला नेपालमा लागेको,
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको !
हरियो चिल्लो जोबन होला वनमा जागेको !
बास्नाले मीठो चलेको होला हावाको लहर,
रूख र लहरा झुलेका होलान् सिहर सिहर !
खोलामा होलान् घाममा खेल्ने छविला लहर,
'वसन्त लाग्यो ! वसन्त लाग्यो !' भन्दी हो कोइली,
डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,