Jump to content

Page:Tarun tapasi.pdf/121

From Nepali Proofreaders
Revision as of 21:12, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥

२२
अँठ्याई अर्काको सहजसुख वा जीवनविधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥

२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको ।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली ॥

२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥

२५
बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला ।
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥

२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी ॥