Jump to content

Page:Tarun tapasi.pdf/119

From Nepali Proofreaders
Revision as of 21:12, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
लतावृक्षद्वारा प्रणयवश रोमाऽऽञ्चित बनी ।
धरा फेरी हाँसिन्, कुसुमरस वा सौरभ घना
थियो मानू सानू मधुर उनको हास्यरचना ॥

१०
हवा चाहीं बाठो चटकपटु जादूगर बनी
लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
कुना लागी मस्के अलिकति लजायेर विदिशा ॥

११
मिहीं सेतो दन्तद्युति तुहिनको दर्शित गरी
सबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये ॥

१२
जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती
नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति ।
घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन
चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन ॥

१३
फिँजारी फैलाई प्रबल रसिला बाहुलहरी
अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
खिंची उस्को पानी रविकिरण हाँसे अझ बली ॥

१४
ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक
सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक ।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
हँसायो चौतर्फी क्षणिक सुखसौन्दर्य भवको ॥