Jump to content

Page:Tarun tapasi.pdf/109

From Nepali Proofreaders
Revision as of 21:08, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी ॥

१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृतकरका साबुन दली ।
चुहाई चौतर्फी अमृतरसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?

२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥

२१
स्वयं गोता मारी अमरतटिनीमा दिनभरी
किनारामा उत्री किरणफुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?

२२
बनायो कस्ले त्यो रजतघट ? पीयूष उसमा
भर्यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥

२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन ऐले भुवनभर गोरोचन घसी ॥