२१
कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा ॥
२२
कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता ।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलासनगरी ॥
२३
तमासा ती खासा उपसुरपुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुमकलिका षट्पद सरी ॥
२४
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
चढी उड्दाउड्दै अति वितत आलोकपथमा ।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी ॥
२५
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको ।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥
२६
विधाताको यद्वा नियतिगतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी ।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥
Page:Tarun tapasi.pdf/103
Appearance
This page has not been proofread
