१५
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी ।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा ॥
१६
कतै विद्युल्लेखाललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी ।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा ॥
१७
विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु ।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥
१८
कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
लटामा लर्काई सुरकुसुम वा शङ्करमणि ।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा ॥
१९
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
वसन्तश्री जस्ता मगनमदिरामस्त युवति ।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयनशरले घात ननिको ॥
२०
कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्यश्रीले खचित वनदेवीमय बनी ।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता ॥
Page:Tarun tapasi.pdf/102
Appearance
This page has not been proofread
