२१
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा ॥
२२
महात्मा भै कोही फगत परनिन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी ।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥
२३
निचोरी निर्धाका रगतपसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन
म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन ॥
२४
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौं के लाखौं मनुजहरुको भीड उनियो ।
अहा त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदयसम ॥
२५
हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस ।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥
२६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको ॥
Page:Tarun tapasi.pdf/97
Appearance
This page has not been proofread
