६
लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो ।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा ॥
७
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वीचोलाको विधिनियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें ॥
८
कठै भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोकाडालाउपर सब त्यै भोज्यविभव ।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी ॥
९
स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥
१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर ?
११
सफा सेताराता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥
Page:Tarun tapasi.pdf/75
Appearance
This page has not been proofread
