This page has not been proofread
३१
कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥
३२
चराले झैं चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी ।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा ॥
३३
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल ।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?
३४
अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली ।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥