This page has not been proofread
२७
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी ।
कठै जान्दो हो ता नियम परपीडाहरणको
छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥
२८
ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी ।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो ॥
२९
यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले ।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
पुछिकन चुप लागें, सन्न भो देह सारा ॥