Jump to content

Page:Tarun tapasi.pdf/59

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय ?

२८
अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥

२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥

३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचनधारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालें मुहार ॥