Jump to content

Page:Tarun tapasi.pdf/58

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२१
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी ॥

२२
कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी ।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली ॥

२३
उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलिघरको ।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
प्रभातीको ताना मधुर लिन थाल्यो पलपल ॥

२४
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी ।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा ॥

२५
ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी ।
चरा मानू नीराजनविषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥

२६
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि ।
यता छोड्छन् ताता सुखशयनको वासरमणी ।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश ॥