६
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह किन उल्टो परुषता ?
७
जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा ॥
८
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी ॥
९
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥
१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
कठै यो हत्यारोपन त उस वेला समझिनँ ॥
११
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि ॥
Page:Tarun tapasi.pdf/44
Appearance
This page has not been proofread
