This page has not been proofread
२४
व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥
२५
चरीको त्यो 'चीं चीं' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमरकृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा ॥
२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा ।
चरीको 'चीं चीं' मा उस बखत मैले जुन कुरा
सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥
२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहगवधकहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयनयुगल फेरी शून्यमा नै लगाये ॥