Jump to content

Page:Tarun tapasi.pdf/32

From Nepali Proofreaders
Revision as of 20:43, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
चतुर्थ विश्राम


अलिबेर पतङ्गका कुरा
मनले खूब गमें पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो ॥


निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
परीहालें मानू पछि त म कठै मृत्युमुखमा ॥


स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
दशाले हो यद्वा कुटिले विधिको कोपवश हो ?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी ॥


मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो ।
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥


पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो ॥