१६
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौं अब गुँड बनायेर बचरा ॥
१७
चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी ।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव ॥
१८
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धनछल ।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा ॥
१९
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब
हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब ।
सबै भन्दा माथी बसिकन गरौंला चहचह
झुली गाना गाई रसिकगुरु गन्धर्वसरह ॥
२०
कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब ॥
२१
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी ।
उती मेरो अन्तःकरण उनको रङ्गरसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा ॥
Page:Tarun tapasi.pdf/28
Appearance
This page has not been proofread
