Jump to content

Page:Tarun tapasi.pdf/23

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२२
सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी ।
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो ॥

२३
बजाई चौतर्फी विजयनगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा ॥

२४
उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली ।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश ॥

२५
विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो ।
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव ॥

२६
अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा ।
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥

२७
क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुखशोभा शान्त गम्भीर पारी ।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ितधारा दबाये ॥