Jump to content

Page:Tarun tapasi.pdf/22

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१६
हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रसबल उसैको भर गरी ।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको ॥

१७
विजेताको मानू विकट विजयोन्मादजनित
प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित ।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥

१८
हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी ।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये ?

१९
न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको ।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को ?

२०
खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो ।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी ॥

२१
निशाले छर्थी जो अमृतरस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाहशमन ।
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल ॥