Jump to content

Page:Tarun tapasi.pdf/14

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१२
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको
सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको ।
परेको पाखामा अति विकल माछोमय बनी
बिताये वा काटे छटपट गरी कष्टरजनी ॥

१३
हवा चल्दैआयो सिरिसिरि पछिल्लो पहरमा
बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा ।
झकाई त्यै वेला अगम दहराऽऽकाशबिचमा
पुगेछन् ती भित्री अमरपदवीको नगिचमा ॥

१४
हरायो कान्ताको विरह, तपको कौतुक गयो
अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो ।
बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा
डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा ॥

१५
न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा
न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा ।
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी
कुनै फेला पारे अगम उनले शान्तिढुकुटी ॥

१६
न यो द्यावापृथ्वीमय भुवनको भास उसमा
न ता बोक्रै मैला विषयसुखको प्यास उसमा ।
अहा त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा
थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥

१७
शरत्को वेला होस्, अमृतकर लाखौं टहटह
उदाऊन् बेदागी गगनभर गर्दै चहचह ।
प्रभा तिन्को उम्लोस्, तदपि उस आलोकलवको
अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥