४३
लुगामाथि लुगा खाप आगो ताप घरीघरी ।
स्यूस्यूस्यू नगरी तेसै के जाला माघको झरी ?
४४
काम सातोलिने मात्र, नाम सातोदिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्दमाधुरी ॥
४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥
४६
तिर्सनाजाल झैं लम्बा पन्छिंदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्तिपूर्ण मनैसरी ॥
४७
ठण्डीका पिरले मानू हिम आफैं उँधोतिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?
४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैं उग्र कालको ॥
४९
दाह्रातुल्य चुचे ढुङ्गा, दण्ड झैं धूपिका रुख ।
बायेको पहरारूप चौतर्फी गहिरो मुख ॥
५०
हिमाचल नदीरूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?
५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्लागण्डकीसरी ॥
Page:Ritubichar.pdf/71
Appearance
This page has not been proofread
