This page has not been proofread
८८
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी ।
जूवामा धन फालेका जुवाडेको मुखैसरी ॥
८९
पद्मको रसका प्रेमी मदमत्त मधुव्रत ।
घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित ॥
९०
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल ।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥
९१
शीतले फूलका साना बगैंचाका बुटाहरू ।
परलोक भये धेरै, रुन्छन् थोरै धुरूधुरू ॥
९२
रसधारा चुसी सारा तुषाराले वनस्थली ।
गरायो नीरसाऽऽकार छैन केही झिलीमिली ॥
९३
पुष्पपल्लवको शोभा नभयेको वनै सब ।
बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं अब ॥
९४
गलेकी हिमवर्षाले, बलेकी तपले अति ।
गौरी झैं कलिला साना प्याहुली छन् कताकति ॥
९५
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा ।
सिद्धिसम्पत्तिले पूर्ण योगी झैं विश्वजालमा ॥
९६
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण ।
देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन ?