This page has not been proofread
७९
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा ।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा ॥
८०
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन ।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन ॥
८१
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥
८२
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥
८३
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी ॥
८४
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय ।
सुखीलाई उनै रात सुधाका लहरीमय ॥
८५
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन ।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन ॥
८६
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी ॥
८७
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन ।
लागे कुमुदिनीनाथ करुणावश पग्लन ॥