१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी ॥
१७
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी ॥
१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर ॥
२०
शीतरेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी ॥
२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी ॥
२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर ।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर ॥
२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥
Page:Ritubichar.pdf/56
Appearance
This page has not been proofread
