मनको दुःख मनैमा राख्छिन् नबोली छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरद्को समीपमा,
बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,
बिदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो,
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु ताराका ज्योति, टप्कन्छन् महीतल,
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार,
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँडा मानिस छर्दिन्छ,
अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी,
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।
•
गुलाबलाई देखेर राम्रो हे भाइ ! नछुनू !
लोभले हेर्यो, मोहनी गयो जङ्गली नहुनू !
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएका फूल छोएर नमार [❂ 1]