६१
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी ॥
६२
नौनीसमान वर्षाले गालेको भूमिभाग यो ।
करुणाले पगालेको सज्जनैतुल्य देखियो ॥
६३
कुल्चदामा पनी गज्ज पर्ने मूर्खसमानको ।
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥
६४
लोकोपकारमा जत्ति खर्चन्छ जलसम्पति ।
उत्ती उज्यालो देखिन्छ मेघको वदनद्युति ॥
६५
बाँध बाँधीदिंदा सोझै चढ्यो पानी कुलाभरी ।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥
६६
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्मधाराले पह्लायेको कुलैसरी ॥
६७
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरतासरी ॥
६८
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥
६९
ग्रीष्मतप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा ?
Page:Ritubichar.pdf/37
Appearance
This page has not been proofread
