This page has not been proofread
३४
पवित्र परमात्माको भक्तिमा सत्य भक्त झैं ।
शीतला जलधारामा भिजेको छ प्रजा सधैं ॥
३५
घरी दरदराऽऽकार घरी सुस्तै सिमीसिमी ।
जलवर्षा लगातार गर्छ मेघ घुमी घुमी ॥
३६
चिरिन्छन् जलधाराले नलिनीपत्र चर्चरी ।
दुर्वाच्यवाणवर्षाले साधुको हृदयैसरी ॥
३७
दिन रात दुवै कालो पारी धुम्धुमियो झरी ।
मुखपेट दुवै मैला भयेको दुर्जनैसरी ॥
३८
झरीले छोपिराखेका वर्षाका दिन छन् सब ।
अविद्याले अँठ्यायेका जीवतुल्य गतप्रभ ॥
३९
अँध्यारो दिन देखेर चखेवी बिचरी चरी ।
रुन्छे व्याकुलतासाथ रात्रिको भ्रान्तिमा परी ॥
४०
जलवर्षा गरी मेघ तृप्त छैन कुनै दिन ।
दाता देह छँदासम्म के गर्ला मुष्टिबन्धन ?
४१
यताउता कतै कत्ति डग्दैन घनमण्डल ।
लब्धभूमि महात्माको चित्त झैं अतिनिश्चल ॥
४२
कहाँ सूर्य, कहाँ तारा, कहाँ नक्षत्रनायक ।
देखिन्छन् कालले गर्दा जुन्किरी नै झकाझक ॥