This page has not been proofread
१६
मेघमाला मिले एकैछत्त भै गगनैभरी ।
उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी ॥
१७
नाट्यशाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी ॥
१८
घरीघरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिकासरी ॥
१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरीथरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभासरी ॥
२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुलीरूप झण्डा विजयको गड्यो ॥
२१
घनक्क पारी घन्काई गम्भीर जयडिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतलीतुल्य धूपमा ती बिलाउँछन् ॥
२३
पहिले पृथिवीमाथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी ॥
२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुखवर्षाको मनमा हर्ष आउँछ ॥