This page has not been proofread
७
खिंची लपलपाऽऽकार तर्बार बिजुलीमय ।
गर्जन्छ रणमा मत्त वीर झैं मेघ निर्भय ॥
८
शिवले विष झैं सारा चक्रो गर्मी पिईकन ।
थाल्यो कि बिजुलीजिभ्रो काढी मेघ मडारिन ?
९
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ ।
घरी त्यो नगरातुल्य जोरले घुहुनाउँछ ॥
१०
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली ।
चल्छ त्यो बिजुलीरूप लट्ठी टेकी अलीअली ॥
११
बिजुली नामको यद्वा छहरा अति निर्मल ।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्ल ?
१२
यस्तै छ जीवनज्योति अँध्यारामा भनीकन ।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ?
१३
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ ।
विश्वको जीवनज्योति उसैले जग्मगाउँछ ॥
१४
जो त्यो मिलमिलीरूप मेघको मन्दहास छ ।
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥
१५
हास्यगर्भित गम्भीर सुन्दा त्यो मेघगर्जन ।
सारा संसार सम्झन्छ भावि सौभाग्यसूचन ॥