This page has not been proofread
६२
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब ।
तापाऽऽर्त पशुपक्षीका विश्रामस्थान छन् अब ॥
६३
असह्य तापका मारे हिजो आज सबै जन ।
नैष्कर्म्यसिद्ध योगी झैं घुम्न थाले वनैवन ॥
६४
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा ।
व्यग्र देखिन्छ अत्यन्त विलासीवृन्द हालमा ॥
६५
खेतमा खेतिवालाका रमणीजन हालमा ।
पैह्रन्छन् पसिनारूप मुक्ताऽऽभूषण भालमा ॥
६६
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग ।
एकदेशीयका हुन्छ दुःखैमा ऐक्य सम्भव ॥
६७
पहिले वन गर्मीले उसिनेको समान छ ।
डढेलो उसमा फेरि दुःखको के बयान छ ?
६८
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन ।
कुरुवंशीसरी थाल्यो वंशश्रेणी विनाशिन ॥
६९
वेगसाथ बढेको छ डढेलो वनमा अति ।
हिन्दूमा सर्वसंहारी फूट झैं भीषणाऽऽकृति ॥
७०
उताबाट उता सल्क्यो उताबाट उतातिर ।
गर्दै चटचटाऽऽकार छोपिहाल्यो सबैतिर ॥