Jump to content

Page:Ritubichar.pdf/24

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

५३
जलाशयहरूनेर तुच्छ जीवनखातिर ।
मरे पनि झुकायेन धीर चातकले शिर ॥

५४
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि ।
नौनीसमान पग्लन्छ छाती पत्थरको पनि ॥

५५
त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य छ ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ ॥

५६
अरू सानातिना पक्षी वनको भित्रभित्र छन् ।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन् ॥

५७
बिचरा ती चरालाई न चाराको उमङ्ग छ ।
न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग छ ॥

५८
ज्वालाजाल फिँजारेको खडेरीरूप दानव ।
देखी डरी डरी दप्के किन्नरी झैं चरी सब ॥

५९
वैलाये घामले राम्रा भरिला पुष्पपल्लव ।
दारिद्र्यले डढायेका दुःखी झैं गतगौरव ॥

६०
माथि माथि सबैतर्फ फर्र फाली भुवाकन ।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन ?

६१
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी ।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी ॥