हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?"
नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्- "डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"
नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना देवीले भनिन्- "जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"
नानीथकुं रातो मुख लाएर सरासर गइन् ।