Jump to content

Page:Buddhi binod.pdf/11

From Nepali Proofreaders
Revision as of 20:23, 19 April 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

पिएर गीताऽमृत शान्त भैकन
कुटुम्ब-हत्या-तिर लागनू किन ?
किरीटिले तत्व बुझे अहो ! कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥३९॥

जती जगत्मा छ मनुष्यको गण
उती सबैका मनु मूल कारण ।
छँदा-छँदै जाति पृथक् बने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४०॥

कतै महापाप छ मद्य गोवध
कतै यही धर्म गनिन्छ मुख्यतः ।
पत्याउने के नपत्याउने कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४१॥

निबद्ध एकै पतिमा वधू जन
वधू हजारौं पतिले हुने लिन ।
चलेन पत्नीव्रतको प्रथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४२॥

विभाग वर्णाऽऽश्रमको गरीकन
जुदा जुदा जाति खडा गराउन ।
समर्थ को हो किन यो गरेछन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥४३॥