Jump to content

Prithviraj chauhan/saptadash sarga

From Nepali Proofreaders
Revision as of 20:00, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=173 to=179 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
सप्तदश सर्ग

(१)
घोरीले खाई एक फेरा चोट
बिर्सेन आफ्नो हारको खोट
चढ्दछु भनी भारतको बोट
फौज जम्मा पारेर ।
इस्लामको जोश गजबले जल्यो
सबका नशामा आगो है हाल्यो
जन्नते रोशन सिपाहीमा बाल्यो
चढ्दछौ माथि ।
हे भाइ साथी ।
मरेर गए
जितेछ ताज
दुश्मन मारेर ।
भनेर तालीम गरेका फौज
हिन्दूस्तान कारेर ।

छल र दाउहरूमा पूरा
बल र वान छानेर पूरा
भारतको चढाउलाई ल्यायो धूरा
सिन्धुलाई तारेर ।

(२)
भारत थियो निद्रामा अहिले
विलास निद्रामा ।
हारेर गयो मुसल्मान भनी ।
विजय तन्द्रामा ।

(३)
अँधेरी फौज रातका आए
निद्रामा छोपेर ।
सभ्यको आकार, रङ्गलाई नास्न
कलाका छाती जङ्गली भाला-
हरूले रोपेर ।

(४)
त्यो दिन थियो गिद्धको राजा
काकको रजाइँ ।
हिन्दूको थियो कलङ्ग टीका
सम्झदै हरे ! आँशुका ढिका
पग्लन्छन् मलाई ।

(५)
सिंहको गुफा नीदमा थियो
शिकारलाई झम्टेर ।
अब ता फेरि आओइन भनी
ह्वाङ्ग्राङ्ग यौटा काफी भो भनी
एक फेरा झम्टेर ।

(६)
भारतका छाती थिए है चीरा
आनन्द मनमा डिल्लीका हीरा
कन्नौजमा गर्वी द्वेषका कीरा
एकता क्वै छैन ।

के गरूँ हरे ! भारत अब
डुब्न नै लाग्यो म्लेच्छ पो जाग्यो
थरथर काँपी मुटु यो आयो
हौसला हुँदैन ।

(७)
यही वेला आए प्रतापी राना
अनेक समरका ।
समर वीर स्वभावका धीर
महर्षि जस्ता भक्तका हीरा
पाठ र पूजा जीवन जसको
ईश्वर सम्झी बिताउने दिन
चार चार प्रहरका ।
 
(८)
डिल्लीको सिंह जगाऊँ भनी
संगठन सबको मिलाऊँ भनी
हिन्दूको झन्डा आकाशमनि
कीर्तिले उचाल्न ।
सबैलाई उनले पिटे है डङ्का
छोड्नु त्यो त्रास, आपसका शङ्का
फाटेको भारत लड्नेछ भनी
जुटेको भारत बढ़नेछ भनी
"शत्रुको अघि भाइको फूट
मिलाई सारा एक भई जूट
नगरोस् म्लेच्छ आएर टूट"
एक दिलले सारा वैरीमा छुट
भनेर सारा रजपूत राजा
हरूलाई समाल्न ।

(९)
पृथिवीराज झल्याँस्स भए
जो वर्षभरि सुतेका थिए
झकमान वीरको ।

मिलाए हात समर साथ
सल्लाह गरे अनेकौँ बात
निभाउन उद्यत गराए राजा
हरूलाई आगो बलेको आज
हिन्दको पीरको ।
 
(१०)
अनेकौं आए वीरका मणि
सुनेर उनको भारत ध्वनि
एक सेना बनी झण्डाका मनि
अनेक गज मिलेझै गरी
एक नेता लिई सब वरिपरि
पृथिवी वीरको ।
अरू छन् राजा चौहान रवि
संसार भर्छ उनैको छवि
किरण झर्छन्
असंख्य कर छन्
जीवन दिने आतप झर्छन्
ठूला र सानामा ।
एकको आत्मा जगत्‌मा राज छ
एक नै सूर्य पृथिवीमा छ
जसको किरण फूल सुवास भरी
हवालाई चाली, सागर उचाली
पृथिवी प्यासलाई बादलमा झर्छ
इन्द्रको धनुष झलमल पर्छ
संसार चालन किरणले गर्छ
दर्शनले खाली जीवन भर्छ
एक सेतो राप संसारमा छर्छ
सबल वस्तु लहर भर्छ
सिर्जनका पानामा ।
आँखाको केन्द्र दृश्यमान इन्द्र
सहज शासन गर्दछ सारा
सौर यो थिति चलाउने भई

अनेक बिम्ब भएर फैली
जीवन ज्योति भरेर झलझल
विश्व र दानामा ।
नियत गराई खोलालाई बाटो
माटोलाई जीवन, जीवनलाई माटो
बनाउन जसले उदय पायो
चराका गानामा ।
जो सम्झी रुन्छन् फूल र पात
मनका पानामा ।
जसलाई हामी नमस्कार गछौं
कीर्तिका छानामा ।
जो सधैं दिन दिन उदाई उठ्छन्
हृदय गानामा ।

(११)
जयचन्द राजा कन्नौजका तर
द्वेष र गर्व ईर्ष्याका घर
कानमा तेल हाली ।
जोरी र पारी मरेमा कीर्ति
आफ्नो छ बढ्ने गरूँला फुर्ति
भनेर फुल्दा घमण्डी मूर्ति
बस्दछन् जुंघा लगाई ताउ
बिग्रेका वीर समरका मणि
नाक ठाडो उचाली ।
 
(१२)
बिराली भन्छे चुलीमा बसी
तातो र न्यानोमा।
“यो घरका मान्छे
मालिक र भान्छे
कालले खाए म हुन्थें राजा
यो घर हुन्थ्यो विलास मेरो
दूधको हुन्थ्यो छेलो र खेलो

डसनामा डट्थें
चूलीमा चढ्थें
सिरक ओढ्थें
भात र दाल, मासु र माछा
ठूलो र सानोमा ।
तर यी जुंघा सल्काइदिन्छिन्
ती भान्छे बज्यै मलाई देखे
अगुल्टो हानी
जानेर बानी
मरि नै जाओस् म हुन्थें रानी"
भनेर भुतभुत पोतेको चूलो
उपर बसी भुत्भुत गर्दै
बुद्धिकी उ कानी
पशुकी बुद्धि क्या हुन्छ सानी
एक कदम अघि पुग्दैनन् नानी
घर नै मेरो उजाड्को राज्य
बीचमा हुँला भन्दछे शानी
जयचन्द त्यस्तै बिराली बुद्धि
भएर काना छन् ।
हा ! नजर हाम्रा ठाँटका राम्रा
बोक्रा र कुम्रा अहम्‌का चाम्रा
हरूका साना छन् ।
क्या तानाशाही कीर्ति छ यूटी
बिराली ताना छन् ।
 
(१३)
जयचन्दलाई बोलाउ गर्यो
उनले हेरेनन् ।
भारत मेरो विलास भवन
मेरै यी कीर्तिहरूका सुमन
भनेर तिनले धोखामा पारे
दशामा हेरेनन् ।

(१४)
वीरका मणि रवाफी तेजी
अँधाका भयङ्कर ।
आँखाका ठूला बुद्धिका फूला
क्या राजा दियौ भारतलाई !
कीर्तिको प्यासी, भारतको नाश
जय हो हे शङ्कर !

(१५)
लौ भेद हेर ती दुइ बीचमा
सच्चा र कच्चाको ।
जयचन्द राजा नघुसून मनमा
भारत बच्चाको ।