Jump to content

Prithviraj chauhan/sodash sarga

From Nepali Proofreaders
Revision as of 20:00, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=166 to=172 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
षोडश सर्ग

(१)
प्रेमको राज्य आत्माले रच्यो
मधुर जूनमा ।
कर्कश जगत् चकोरमैं भुली
सुन्दरको गुणमा ।

(२)
ईश्वरको दिव्य मोहनी खुल्छ
नारीको मुहारमा ।
आमन्त्रण गर्ने आत्मालाई सबमा
सिर्जनको यो वनमा ।

(३)
कोयली बोली मधुरले बोल्दा
बैंशका बागमा ।
लठिन्छ दिल रसिकको त्यसै
अनौठा लागुमा।

(४)
हात्तीलाई ठूलो वनको राजा
निस्केको दाह्रा चिर्नलाई जोरी
उमेर पूरा आँखाको सानो
कामको विशाल रूपमैं मानो
वनको राजमा रूखका खम्बा
हरियो खाना पातको छानो
जितेर सारा वीरलाई मानो
सहज गौरव
देखाई राज्ने
बैंशकी राम्री हथेनी छानी
शैरमा मस्त खोपीमा धानी
अरू छन् खालि नेतृत्व लिने
अराय भरको प्रतापी जानी
उ हुन्छ वैरी जितेको बेला
आलस्यबीच सुस्थर लिँदो
पिएर चाँदी मदिरा पानी
वनको राजमा ।
जब छ वनको एक छेउ तिर
धूवाँको पुतपुत अघिको आगो
ननिभी झाडी झयासमा लाग्दो
ज्वालामा टाढा नदेखी जाग्दो
कुइरो टुक्रा हो कि मैं टाढा
रूखका टुप्पा बसेका चीललाई
उल्लाई छैन त्यसको थाह
समर छैन शान्ति छ भनी
विलासी प्रेमको लिएको राहा
ढड्डीका माझमा ।
जब फूल झर्छन् झर र झर
उषाको चढ्दो कीर्तिलाई वर्षा

रूखका कवि गाउँदछन् गान
रङ्गीन पत्र मधुर स्वर
आकाशका बारी चरेर ल्याई
सुनका धुला अक्षरलाई
महिमा साँझमा ।
उ हुन्छ खाली फुर्सदमा अलस
चुनेर आफ्नी वनकी स्त्रीलाई
सूँढले पानी छर्किन्छ कहिले
दाँतले कन्याई मारेर चिलाइ
दुई जनालाई प्रेमको संसार
हरियो माझमा ।
आनन्द जस्ता चार दिशा खुल्छन्
हीरा र मोती जहाँ कहीँ कुन्छन्
मदिराजस्ता रङ्गहरू फुल्छन्
प्रतापका राजमा ।
समरको बल वीर्यलाई खालि
लड्नको बदला विलासमा हाली
आँखामा प्रेमको रोशनी बाली
"तिमी र ममा संसार सारा"
मरण प्यारो जीवन सुन्दर
भनेझै खेलहरूमा प्यारा
कृष्ण र राधा गजका रूपमा
वृन्दावनभित्र विहार गर्दा
विश्वको नेता मुरली भर्दा
विम्बकी ज्योति लाउँदी पर्दा
मायाको नजरमा ।
ठीक त्यस्तै भयो प्रेमीको राजमा
विलासी आलस पृथिवीराजमा
भुलेछन् उनले संसार सारा
डिल्लीका शहरमा ।

मुसल्मान चाहिँ चोटले लाल
हेर्दथ्यो हिन्दूहरूको चाल
दाउ र छल गर्व यी जाल
भारत लिन ईखको होशमा
हारले तेजी इस्लामी जोशमा
विजय रहरमा ।
पृथिवीराज प्रेमको दुनियाँ
रचेर भुल्थे आजको दिन
तरबार, छल संसार, रण
डिल्लीका दरबारमा ।

(५)
कुरङ्गी जस्ती वनकी साथमा
झाडीमा बस्ने मृगका जातमा
सुगन्ध हुने चाखलाग्दा पातमा
गला र गला लुटुक्क पारी
प्रेमको न्यानोपनामा भारी
जब फूल फुल्छन् मृगका आसन
मखमलमाथि केशर झारी
हरिया मखमलमा ।
दुई आँखा नानी, दुनियाँ दुई
यौटाका टक अर्कालाई दिन्छन्
नबोल्ने प्रेममा आनन्द भाषी
कहिले कहिले-कन्याई सिङले
लुटपीट मीठो बराबर गरी
जुरुक्क उठी दगुरीवरी
हीराको रात बिउँझै पग्लाई
सुनका झलझलमा ।
शीतले थोपा टिपुंला सरि
खुरुरु गरी दगुरीवरी
ठण्डीले फेरि सम्झेर न्यानो
प्रेममा उस्तै लुट्पुट गरी
चराका खलबलमा ।

ती दुई जना प्रेममै भुले
समर छैन आँशु नै छैन
स्वर्गको संसार देवको चैन
भनेझैँ आफ्ना सपने बागमा
परस्पर टूना देखाउने प्रेमको
मधुर अलमलमा ।
चितुवा जब भोकले खरो
खानाको खोजमा जङ्गली बरो !
त्यस बेला पनि दाउमा थियो
मिर्मिरे खलबलमा ।

(६)
ढुक्कुर दुई बनाई गँड
भुवामा सिमलका ।
वनको कुना फूलको छानी
स्वर्गको दरबार उषाकी रानी
देखेर कुरकुर प्रेमले कुर्ली
एकाको ध्वनि अर्कोमा सुर ली
प्रेमको दुनियाँ आएको उर्ली
देखेर सुनसुनमा ।
पातका पर्दा पछाडि गर्दा
प्रेमको भाषण ।
त्यो न्यानो गुँडमा भुलेझै सारा
संसारका दूषण ।
जब है भोको बाज हिँड्छ माथि
शिकार निर्दोष खोजेर जाती
चारेर गगन ।

(७)
क्रौञ्चका दुइ यी जोडी थिए
बैंशका भूवामा ।
सपना नामको कीलको नीर
उडानको रातमा छानेर तीर
प्रेमको बत्ती उज्यालो बाल्ने

अमृत छर्की चन्द्रले राती
ऊँगमा राखी लोलाउँदा पाती
झलमल झीलमा छायाँ दी जाती
बास है बस्यो रूखका मनि
जूनले धूवामा ।
गला र गला थपेर आँखा
अमृतका कुवामा ।
राजा र रानी कऱ्याङ् र कुरुङ्
आकाशमा ज्यादै माथि है उड्दा
मसीना रेखा ताँतीमा लामा
सुन्दरको देशको उज्यालो तीरलाई
पखेटा जसका पाउँछन् धामा
प्रेमका बलले ।
जब है व्याधा चालमारी मारी
पछाडिबाट आउँछ कट्ट
चलाकी छलले ।
सुनेर जसलाई एक साथ उड्लान्
फट् फट फर् फर्
पखेटा घनघोर
क्रौञ्चका दलले !
ठुँगेर मार्न खोजेर व्याधा
पखेटे आँधी
समरले जाँदा
डराई कोही, कराई कोही
व्याधाका छलले ।
ती त्यस्तै गरी बसेका थिए
प्रेमको जूनमा ।
नङ्गामा लाल प्रकृति बिर्सी
संसारको वनमा ।

(८)
दुनियाँ सज्यो प्रेमले भारी
दुनियाँ टूनाको।

दिन र रातका सुनका पारी
भएको पङ्ख सजाई भारी
स्वर्गका पुर्यासई गुलाफका बारी
प्रेमका आँशु स्वर्गका झारी
खुलाउँदै अधर प्रेमले मधुर
मञ्जरी मुनाको ।
तिनले भुले अँधेरी सारा
हृदय गगन हीराका तारा
उडेर भाव हजारों सारा
स्वर्गमा बसेछन् ।
चमचम पारी
देख्नेलाई भारी
प्रेमका आँशु युग र युगका
सुख र दुःखका
स्वर्गको नीलो चोटालाई जड्ने
झल्काऊँ खुलेछन् ।

(९)
शरद्का पात सुनमा गए
हिउँदका हिउँ पवित्र भए
सपना बिउ छोपेर राम्रा
सब ऋतु उनका वसन्त थिए
प्रेमका वनमा ।
थिएन यौटा कुरो नै केही
एक थोपा शङ्का, एक टुक्रा कालो
आपद्ले टिप्ला टपक्क भनी
तिनका मनमा ।
हा ! कठैबरा ! प्रेमका चरा !
भोग गर्दा घरा
तिनको मनमा ।