Jump to content

Prithviraj chauhan/panchadash sarga

From Nepali Proofreaders
Revision as of 20:00, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=159 to=165 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
पञ्चदश सर्ग

(१)
डिल्लीमा आज धूमधाम ठूलो
उत्सवको वृक्ष हवामा फुल्यो
सुवर्ण भई दिन आज खुल्यो
सपना जस्तो बादल खुल्यो
उदय गगनमा ।
उषाले देखिन् किरणले चित्र
विवाह दिव्य स्वर्गको भित्र
सूर्यको साथ सौन्दर्य देवी
विवाह गर्दा अकाशको पर्दा
मर्त्यका नयनमा ।
गुलाफी रङ्ग, सुनका पानी
चढाई रेखा मोहन तानी
क्षण र क्षणलाई
र छाय छानी
उषाका भवनमा ।

त्यो देखी आज चिडिया बोले
मधुरको स्वप्ना कण्ठले खोले
लहराहरू धोजाऊँ डोले
अनन्त आई फिल्मिल बोले
आजको दिनमा ।
उदय यस्तो राम्रो र सुन्दर
भएन अरू भनेर बूढा
काँशका केश हिउँका छाटी
जोरिने दुई थर्थर घुडा
भन्दथे जनमा ।
 
(२)
पहिले गुलाब पातलो फैल्यो
मिर्मिर बारीमा ।
सिर्का र छिर्का जो पछि चर्को
रङ्गमै उर्ल्यो
मधुर सुरले रङ्गमा कुर्ल्यो
बादलमा चढी लहरमा छर्ल्यो
पानीका फटिक चञ्चलमा ओर्ल्यो
सुन बाढी बढी गुलाफबाट
बादल भए मधुर ठाँट
चिडिया उडे मोहनी देखी
सुनका घारीमा ।
फाटेर चीरा रङ्गका पोरा
धेर बेर भयो अनेक रूपमा
कहिले परी, कहिले मुजूर
धूँवाँली बल्दा बादलका घेरा
अनेक रूपले झल्मल भए
स्वर्गका बारीमा ।
ढोका भो सुनको कहिलेकाहीँ
पताके फारीमा ।
हामीले देख्यौँ स्वर्ग है आज
बिहाको उत्सव मनाए जस्तो
किरण झारीमा ।

भन्दथे बूढा आँखाका तीखा
जो वीन लिई सडक हिँड्थे ।
गाएर वीर चौहानका गाना
पाँचतारे तारीमा ।

(३)
डिल्लीमा आज नाच र गान
नृत्यको शहरझैँ ।
अग्ला ती घर
भर र भर
अप्सरा नारी
ठाँटमा भारी
बाटेका केश
नागिनी पारी
डटेका रेशम
हरूका सारी
बालख साना छातीमा घारी
झयाललाई स्वर्ग अटाली पारी
नाच र गान तल छ भारी
तरबारका पट्टा कुँडिला धारी
लकडी हातमा चलाकी भारी
ध्वजा र शृङ्गार खम्बामा भारी
नक्कली दुश्मन बनाई मारी
यवनका छाती शरले फारी
नक्कली लडाइँ गरेर भारी
वारि र पारि उत्सव नाच्छ
सागरका लहरझैँ ।

(४)
कवि र गाइने सारङ्गी वीणा
लिएर नाच्दछन् ।
भाट र भाँड देखाई छाँड
कम्मर भाँच्दछन् ।
जयको ध्वनि पुकारी हिँड्छन्
मानिसका लहर।

उत्सव जस्तो जिउँदो आज
डिल्लीको शहर ।

(५)
कल्पना मेरी पुग्दछे गरी
हेर्नको रहर ।
एघार सय नब्बेको वर्ष
डिल्लीको शहर ।

(६)
के मैले देखें आजको दिन
लौन नि भाषा राम्ररी भन
जलप अक्षर लगाई सुन
लाग्ला है लाज सत्यले गिज्याउला
म यस्तो दुर्बल तारको झीनो
अलङ्कार छैन, उपमा छैन
सोझोको खालि प्रकृत चालमा
लेख्दछु हरे ! दिलका तालमा
छि: यस्तो नभन ।

(७)
तस्वीरलाई शब्दले खिच्नु
सारै नै कठिन ।
उषाका प्रयास विफल हुँदा
स्वर्गको चित्रण गर्नलाई सधैं
पटमा गगन ।
मधुर भावका आँशु है रुन्छन्
उरमा सुमन।
प्रयत्नसम्म गरें है मैले ।
भावुक दिलले रङ्गे है दिलले
सङ्केत मात्र यो बुझी पहिले
मनमा रँगन ।
आफ्नो जो टूना, मनको दूना
आधा नै आउँदैन ।

सच्चाको जादू, भिन्नै छ स्वाद्
शब्दले पाउँदैन ।
हे भाइ हेला नगरी हेरे
भावको खोला
गाइनेको चाला
जे जस्तो होला
प्रीतिले आज बजाएँ तार
पहिले कथी लेखिन क्यार ?
यो खाने मुखमा दिलको भार
बोलेकोसम्म हृदय सार
कविता होइन गाइनेको तार
लहर खालि दुई र चार
प्रकृत प्रवाही ।
एकै छिन कान लगाइदेऊ गान
वीरको रसले एक मुट्ठी खान
माग्नेछ आज आँगनमा जान
खालि छ यौटा भक्तिको तान
रजपूत वीरको कथाको पात
संसारको भलाइ ।
छि: कस्तो भन्ने नभन हरि !
गाएर डुल्ने गानैमा मरी
जो दिन मलाई ।

(८)
जानिन अरू
मैले के गरूँ
हाय ! यो संसारमा ।
न पर्ने केही
न देखें केही
न मेरी हुन्छे कल्पना मोही
झल्केका झल्का आँशुले रोई
एक मुट्ठी गाना हृदय फोई
देओस् जो सुन्ने हृदय छोई

जान्छु यो सबको
दिलमा बोई
नेपाली खोला
चलेका छन्द
हरूको अनसारमा ।

(९)
यै मेरो सोख
यै मेरो भोक
यसैमा मेरा आत्माका लोक
यै मेरा खाना यै मेरा शोक
बँदिलो भए दिलमा जोख
नफॅक झोकमा ।
कहिलेकाहीँ फुर्सदमा चाहिँ
दिएर कान
सुने हे गान
वीरको लोकमा।

(१०)
लौ भन्दाभन्दै बिर्सेछु तान
आज छ डिल्ली स्वर्ग है जान
रिमि र झिमीमा ।
लस्कर लाबा तयार भए
फूलका डाली तयार थिए
माला र माली हजार थिए
स्वर्ग र जिमीमा ।
लौ हेर हात्ती कार्चोबी सुनका
जीव र शिंगार
ताँतीका ताँती
अनेक भाँति
हौदामा जाती
राजा छन् झल्केका ।
झयालका परी
हातका लावा
अबीर झिल्केका ।

सिपाही लाम तुरही, ढोलक
दुई तरफ लागी बजाई बढ्छन्
रिसल्लाहरू अघि नै गए
शिंगार राम्रा ती धोजा थिए
लामचुच्चे भालाका ।
लौ हेर यहाँ दुलहा आए
फूल र अबीर क्या बरसाए
लाबा ली राता झरीमा आए
हातबाट कमल कोमल सफा
युवती छालाका ।
आजको मैले यो धूमधाम
नगर्न सकी वर्णन यहाँ
यत्तिमै राखें कलम नाम
भावका लहर वहर लाम
अरू जो खोज्छौ
छातीमा छाम
गङ्गाका तटमा
आउन्न राम्रो रङ्ग है भनी
यहीँ नै छाडे
निराश बनी
खोलेर छाती
हेर है सारा
कल्पना पटमा ।