Jump to content

Prithviraj chauhan/trayodash sarga

From Nepali Proofreaders
Revision as of 19:53, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=138 to=146 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
त्रयोदश सर्ग

(१)
जयचन्द राजा यशको गाँजा
पिएर बस्दछन्।
"संसारभरमा पाइन्छ यौटा
मान्छेको नामको स्वर्गको द्यौता
त्यो म हुँ" भन्दछन् ।
सुँघामा ताउ लाएर काला
अरूलाई खालि पयरका जुत्ता
चिथरे गरीब, कुत्राका टाला
द्वारमा जागा सधैंका कुत्ता
समान गन्दछन् ।

(२)
उनी नै यौटा ईश्वरका मूर्ति
विष्णुका अवतार ।

उनैको दावा विश्वमा सारा
उनैको निम्ति आकाशका धारा
उनैको निम्ति घाम र पानी
उनैको निम्ति हवा र तारा
उनैका सारा वस्तुका खानी
उनैको राजछत्रको रूपमा
आकाशको नीलो वितान तानी
महिमा उनकै गाउनलाई
चरीका कण्ठ खुलेका लाखाँ
उनैका पङ्क हम्कने हवा
उनैका जल उनैका थल
उनैका निम्ति परीका आँखा
स्वर्गको राज्य मरणपछि
विलास जीवन भवन रची
यशको बखानी ।
क्या मीठो अहा चैतन्य सुन्दर
स्वभावले दिएको ।
मपाइँ स्वर्ग मपाइँ विश्व
ममा नै सारा रहस्य खुल्ने
स्वार्थले संसार आफैलाई बुझी
मधुर सुखका
तरङ्ग भरी
स्वार्थको विलास भवन विश्व
मदिरा पिएको ।

(३)
म पनि त्यस्तै चाहन्छु मीठो
विश्वको विवरण ।
जीवन खालि गुलाबको शय्या
सब आफ्ना निम्ति मर्दिऊन् मैय्या
आफूलाई कहिले नहओस् अय्या
स्वर्ग होस् मरण ।

(४)
म जस्तो राम्रो क्वै छैन हेरि !
ऐनामा हेर्दा म जस्तो सुन्दर
देखिन्न काही संसारमा फेरि
मेरो नै सधैं बज्दछ भेरी
म उड्दा उड्दा स्वर्गमा पुगी
सिंहासन लिन्छु ईश्वरको हेरि !
मपाई नबन ।
सबैको निम्ति जिऊ है बिन्ती
नभन्नु विश्व आफ्नो नै निम्ति
अनन्त अघि
के मेरो गिन्ती
सत्यको शरण मरण छ जीवन
आफूलाई नगन ।
आफूलाई भुल्ने विश्वको हितमा
सहज शासन गर्दछ रीतमा
राजाको त्यही अनन्त थितमा
हृदयभित्र ताल है हुन्छ
मानिस राजा बन्दछ चित्‌मा
अनन्त न्याय बाटुलो पार्ने
अनन्त सत्य सजीव धार्ने
देवका रीतमा ।
प्रजाको नोकर
सेवाको चोकर
दु:खको ठोकर
लिएर सबको निम्तिमा जिउने
कुठार दी कुरीतमा ।
तर यो मनले पिर्दछ नानी
बिगार्छ हेर ! सबको बानी
ढुङ्गाका चाचा गुणका सट्टा
बोक्राको ढाँचा, दिव्यमा बट्टा
गराई मानिस देवका ठट्टा

सिँगान रालको कुखुरे सुली
ठूलोमा बयानी ।
चिताको ज्वाला
प्रताप भन्दै शरीरको गुमानी ।
म देख्छु सधैं मिथ्याको दनदन
जलेको सधैं दु:खमा मनमन
म त्यै हुँ भन्दै सिँगारी सधैं
मपाइँ मानिस हिँड्दछ हरे
मिथ्यालाई बखानी ।

(५)
जयचन्द राजा
निक्कै नै शूरा
समर वीर
तेजी र ठूला
हुन् हुनलाई तर छन् हरे !
सारै नै गुमानी ।
कालो छ दाग उनको नाममा
भारतका छिः छिः दूरदूरका छन्
काकका बखानी ।
तैपनि तिनलाई
सम्झँदा मनलाई
आँशु नै आउँछ, आँशु नै आउँछ
नजानी नजानी ।
कमजोरी प्रकृति मानव सारा
मिथ्यालाई भन्थे सत्यको सार
झिलि र मिली स्वर्ग हो भन्थे
आगो हो अँगार ।
ईर्ष्या र द्वेष मिथ्याका धूवाँ
बढ्दछन् गुमानी ।
वीरको यशको प्यासले गर्दा

उत्तमको गुणमा लागेर पर्दा
नरकको बाटो स्वर्ग हो भन्दै
पुगेछन् नजानी ।

(६)
आज छ यिनको दरबारभित्र
बजार सिँगार ।
किलि र मिली रङ्गी र चङ्गी
ठाँटबाँट हजार ।
ध्वजा र पता मन्त्र र पाठ
हजार शिंगार हजार ठाँट
यज्ञको तयारी ।
सुनको ढेरी, चाँदीका पर्वत
धन र धान्य, फलफूल शर्वत
फूलका माला झयाल र ढोका-
हरूमा सिँगारी ।
तुरही शङ्ख धूँ धूँ र भूँ भूँ
अनेक बजाई ।
हजार मुखले जयको ध्वनि
उठ्दोछ सारा आकाशमनि
जसलाई सुनी जयचन्द राजा
पाउँछन् फेरि पृथ्वीमा ताजा
स्वर्गको रजाइँ ।

(७)
अनेक देशका ताजवाला राजा
हाजिर छन् दरबारमा ।
आज छ ठूलो स्वर्गको उत्सव
उनका घरबारमा ।
ठाँटमा राम्रा परीझै सुन्दर
स्त्रीहरू नाच्दछन् ।
अनेक छाँटमा, अनेक काँटमा

छम र छम बारुले कम्मर
लज्जतले भाँच्दछन् ।
इन्द्रको स्वर्ग राजमहललाई
बनाउन मन भई
इन्द्रका धनुष
ऐरावत हात्ती
जुहारले जडी
उत्सवको घडी
सबैका नजर झलमल पारी
ठाउँ ठाउँमा राख्दछन् ।
अमृतको नकल गरेर शर्वत
आउनेलाई बाँड्दछन् ।
सुनका सिँढी बनाई राम्रा
कल्पको तरु जुहारत फुल्ने
बीचमा गाड्दछन् ।
ठाँटेका परी, रेशमका चरी
पारिजात वृक्षहरूका हाँगा
बीचमा ढल्काई
मधुर गाना बोल्नलाई आज
पखेटा जड़ी कार्चोपीवाल
शिंगारी राख्दछन् ।
पात छन् सुनका मञ्जरीपन्ना
पल्लव मुगा शीतदाना मोती
पानीदार जुहार झलमल ज्योति
हावाले जसलाई फूल झारेजस्तो,
बराबर झार्दछन् ।

(८)
तराजु ठूला
सुनका तुला
लाई छन् राखेका ।
गन्धर्व जस्ता बयानी वस्ताद
छन् आज डाकेका।

ठाँटेर ठूला फेटाले सुन्दर
रेशमले ठाँटेका ।

(९)
विद्वान्‌का दाह्री यहाँ छन् शेता
ब्राह्मणका यहाँ ऋत्विक् र नेता
राजसूय गर्ने संसारका जेता
जयचन्द राजाका ।
आज ता स्वर्ग पृथ्वीमा ओर्ली
अप्सरा बोल्छन् मधुर कुर्ली
गलाले मीठा कोयल सुर ली
रवाफको लहर आउँछ उर्ली
भाषाले बयान के आज गर्ली ?
कीर्तिका ताजाका ।

(१०)
कसैले गाउँछन् जयचन्द कीर्ति
अन हल बारामा ।
दुई फेरा जहाँ राजालाई हराई
विजयध्वजा फर्फर गराई
पराक्रम आफ्नो संसारले सहाई
कीर्ति भो धरामा ।

(११)
कसैले गाउँछन् कसरी राखी
आठ राजा कैदमा ।
नमर्दासम्म फैलेको शासन
पाएर यहाँ इन्द्रको आसन
कीर्तिको पथमा ।
जता र ततै जयचन्द राजा
विजय रथमा ।
संसारलाई हाँकेर हिँड्थे
कीर्तिको पथमा ।

(१२)
रजपूत राजा सबैका मणि
सबैका अधिराज ।

उत्तर भारतभरिका थिए
क्षत्रिय शिरताज ।
उनलाई भेट्ने पृथिवीभरमा
कोही थेन प्रतापी ।
स्वर्गका इन्द्र पृथ्वीका चन्द्र
विष्णुका अवतार, भक्तिका केन्द्र
कर्ण दानी, कीर्तिका खानी
खोलामा बग्थे सुन भई पानी
भीममैं बलवान् ।
युधिष्ठिर तुल्य सत्यका प्रेमी
अनेक यस्तै प्रशंसा गर्थे
नृसिंह बखानी ।

(१३)
भाटको पूजा छिः हरे मलाई
क्यै निको लाग्दैन ।
मनले मेरो सत्यको सिवा
अरू चीज माग्दैन ।
झूटाका तारीफ गाँजाझैँ लागी
आफूलाई सम्झी सत् यशका भागी
संसारमा बन्छन् राजा है दागी
प्रकृति बाङ्गेर ।
समय तीरमा हजार वर्ष
पछि पो फेरि संसारमा गई
कालाको कालो
सेताको सेतो
कर्म है नाङ्गेर ।
नसुन हरे ! है आफ्नो कीर्ति
मोलतोल छोडेर ।
सत्यको मोल
न्यायको तौल
कलङ्क जोडेर।

(१४)
निम्ताका राजा देवका दाँजा
आउँछन् आज जयचन्द गाँजा
खोरीमा काम गर्न ।
कसैलाई पाउ कसैलाई पानी
नोकरका काम अनेक छानी
हार्नेको नाक भूइँमा नानी
जित्नेका आँखा हीराका पानी
जाऊ है बरु हार्नेले मरु
खोजेर बवै मर्न ।