Jump to content

Prithviraj chauhan/dwadash sarga

From Nepali Proofreaders
Revision as of 19:53, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=128 to=137 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
द्वादश सर्ग

(१)
थानेश्वर पर तराईनेर
या ताला बारीमा ।
हिन्दू र इस्लाम फौज छन् खडा ।
तयारी भारीमा ।

(२)
हिन्दूका राजा हात्तीमा हौदा
लगाई डटेर ।
सुनका कारीमा पानी खान्छन्
रत्नले जडेर ।

(३)
सिँगारीकन सिंदूर भारी
हात्तीलाई लगाई ।
सुनले फिल्ल पारेर निशान
दुश्मनको बनाई ।

घोडालाई पनि सिँगारीकन
थोरै नै लिएर
हतियार कड्काई
लगाम फड्काई
बराबर चड्काई
रोकेर बलले हिनहिन पारी
टापले चञ्चल जमीन फारी
पदातिलाई कविका गाना जोशका सुनाई ।
"आर्यकी काली"
जै महाकाली !
शब्दले आकाश धन्धन चाली
तरवार नङ्गा झलझल ज्वाली
बजाई कन्झन् पारेर झयाली
दुश्मनलाई दिई अनेक गाली
दश वीर मार्छ भनेर कहिले
लाएको टोपी भुइँमा फाली
शङ्खको ध्वनि निकाली
तुरही बाजी धूं धूले ज्वाली
वीरको हृदय ।
अड्दथे फौज तरबार ढाली
लहर जस्ता समुद्र चाली
पछाडिबाट आएर मिल्दै
गर्लान् प्रलय ।

(४)
हिन्दूको फौज अस्मेल ठूलो
उडाउँछ आकाश भरेर धूलो
उर्लाई गर्जन ।
समुद्र जस्तो गडगड बाढी
कोलाहल ठूलो मच्चाई राडी
म्लेच्छका मुटु थर्काईकन
शरमा वर्षन ।

(५)
घोरीका फौज धेरै छन् घोडा
हिन्हिन ठूलो अस्थिर मोहोडा
कुखुरे कल्कीमा ।
यसो है हेर्दा देखिनँ मैले
उस्तो है हात्ती आँखाले पहिले
भन्दछन् आँखा मेरा है अहिले
गौरवका ढल्कीमा ।
भाला र बर्छा, तरबार, ढाल
छन् झिझिल्याण्ड दाहाको काल
शिकार खेल्दो ।
धसिङ्गर जंघे काला र गोरा
इस्लामका छन् जोशिला छोरा
ज्यान हाम्रा लिने भयङ्कर मोरा
कालसँग मिल्दो झैँ ।

(६)
हाँकको शब्द गुञ्जेर भर्छ
रनन नभस्तल ।
घनन गरी घन्किन्छ सबै
वरि र परि रन्किन्छ सबै
सकल जलथल ।
तुरही धूं धूं
शङ्कको भूँ भूँ
बाजाको पूँ पूँ
चूँघेको धूँ धूँ
ज्यालीको झनन ।
ढयाङ्ग्राको ढुङ् ढुङ्
ड्याङ् ड्याङ् र डुङ्
आकाश रनन ।
आँधीको पहिलो क्षितिजको मैलो
लाल धूली किनारे ।

गद्गदसँग वैरेला जस्तो
गर्जन फु वारे ।
शरका पानी
तरबार तडित्
सागरका वर्षेलान् ।
मैला र राता रुधिरका खोला
लडेका रूख बहाई लाखौँ
भारतमा ओर्लेलान् ।
नहुँदै दिन रगतकै रातो
लालीले रणथल ।
शिँगार पार्ली विजेता होला
कुन चाहिँ यहाँ दल ?

(७)
लौ हेर ताक्यो घोरीले दाउ
हान्नलाई पछाडि ।
थोरै छ दल पुग्दैन बल
काम गर्ने देख्यो दाउ र छल
डर लाग्यो उल्लाई सोझै गै लड्न
भिडेर अगाडि ।
दुईतिरबाट हमला गर्ने
फौजलाई दुई बाँडी ।
विचार गयो तैपनि तस्र्यो ।
अखाडा नछाडी ।

(८)
एक मुठी फौज एक तरफ बढाई
ध्यान खिच्थ्यो हिन्दूको ।
सब जागे उतै नजर लाखौँ
योद्धाका सिन्धुको ।
रिसल्ला बढे हिन्दूका त्यहाँ
सब हात्ती फर्किए ।
पदाति पनि त्यसतरफ मोडे
बीचमा केही खुकुलो छोडे
एक कूना तर्किए ।

(९)
मौका यो मिली बलिया अश्व
फुर्तिला जोशले ।
पठायो ठूलो गड्गडसँग
टापको छिटो हहठसँग
बिजुली जस्तो छिटो है गरी
नभेट्दै होशले ।

(१०)
खलबली पो हिन्दूको फौजमा
खुकुलो खाडीमा ।
मुसल्मान आयो जोशले हाँकी
बिजुली बाढीमा ।
छेडेर पसे पचास जना
हातमा ज्यान लिने ।
तिनले गरे गर्नु है सम्म
कुल्चेर कतै, काटेर कतै
तर्साई कतै, रोएर कतै
धेरैलाई च्यान दिने ।
त्यसैमा फेरि हजारौं लागे
खुकुलो पारेर ।
त्यस तरफ फेरि पचास लागे
त्यो किल्ला फोरेर ।
सय नै जवान मुसल्मान हुँदा
हिन्दूमा खलबली ।
संख्या है तर भएर धेरै
रहेनन् त्यहाँ ती धेर बेरै
दश दोबर मारी हिन्दूका दल
मचाई खलबली ।
धर्मको जोशमा, ज्यान दिने होशमा
एक मुट्ठी पनि क्या शक्ति हुन्छ
चमत्कार कस्तो गरेर जान्छ
नरहु यो भुली ।

(११)
त्यसै नै बेला एक मुट्ठी उता
पहिलो बाँटले ।
हात्तीका लँडमा भालाले रोपे
बलिया आँटले ।
कूँ कूँ र कूँ कूँ अनेक शब्द
हात्तीले कराए ।
छुरीले ठोकी शिरमा उनका
माहुतेहरू अनेक शब्द
गरेर कराए ।
सबभन्दा मोल सूँडको जसलाई
ती जन्तु डराए ।
हात्ती छन् यस्ता काँतर भन्ने
लडाइँमा जनाए ।

(१२)
हिन्दूका त्रास एकबाजि उठे
अनन्त मच्चिन्छ ।
हा हा र हू हू मच्चिन लाग्यो
खलबल ठूलो, कोलाहल ठूलो
अजङ्का हल्ला यथार्थभन्दा
जो खालि पछि दैवको दया
पाए नै सच्चिन्छ ।
त्यो हा हा हू हू छोपेर मौका ।
घोरीले झन् हान्थ्यो ।
झन् ठूलो डर झन् ठूलो त्रास
लहरो गर्जी पहरो घन्की
गर्जेर कन् तान्यो ।

(१३)
मुसल्मान चल्छ बिजुली छिटो
भालाको सच्चा, तरबारको ढिटो
हिन्दू छन् रनथन ।

हारे है हाम्रा राजाले भन्ने
हल्ला छ घन्धन ।
हार्नु है भन्दा हल्लाले भर्छन्
हिन्दुका जाति यी ।
संख्याले भन्दा मिथ्याले भर्छन्
अधेरी राती यी ।

(१४)
तर एक वीर देवता थियो
समरथलमा ।
सबैलाई उसले साहस दियो
दशाको पलमा ।
हा हा र हू हू हारको मच्ची
भाग्नलाई तयार ।
हिन्दूको मुटु पक्रेर खिच्यो
अनेक हजार ।

(१५)
सँगेटी फेरि छरिँदा फौज
आफैले हाँकेर ।
जोशले लगे
झम्टेर यवन
केन्द्रमा ताकेर ।
हिन्दूको जोश एबबाजि बढे
प्राणका पङ्घ स्वर्गमा चढे
कीर्तिमा फेरि शृङ्गार जडे
नहटी हिँड्दछन् ।
वैरीका शिर मूला गरी
शस्त्रले गिँड्दछन् ।
वीरका जोशका हनुमान् डाकी
शत्रुमा भिड्दछन् ।

(१६)
मुसल्मान हुन्थे सुइँकुच्चा सारा
हिन्दूलाई देखेर ।

प्रलय जस्तो गड्गड आँधी
वैरिँदो झन् झन् आफैका माथि
उर्लिंदो देखेर ।

(१७)
हिन्दूले हाने जयका भाला
छातीमा रोपी
रीसले गोपी
आँखामा बाली आर्यको ज्वाला
बन्धु र वर्गहरूको रगत
बदला निकाली ।
किटेर दाहा
बढ्दथे सारा
धाराका धारा
खोलाले आफ्नो पहिलो त्रास
दागझैँ पखाली ।
मुर्दालाई पनि रीसले थुँग्थे
भालाको नोकले छातीमा ठुँग्थे
कोही ता शिरका माला नै उन्थे
कराई जै काली ।
मुसल्मान तर्सी पन्छिन लागे
ज्यान त्याग्ने वीर निराशले भागे
छर र बर ती हुन लागे
चौहानका प्रतापमा ।
हिन्दूको जोश झन् बढ्दै गयो
झन् लखेट्दिई फौज त्यो गयो
लडाइँको त्यो रापमा ।

(१८)
मुहम्मद घोरी घोडामा थिए
मुटुमा थरर ।
तैपनि जोश देखाई डाक्ने
हिन्दूलाई अझै वीरझैँ हाँक्ने ।
तर हा घरर ।

ती लोटिगए जमीनमा बरा !
कराए सारा मुसल्मानहरू
क्वै रोए तरर ।
एक वीरले उनलाई झटपट उठाई
घोडामा चढायो ।
एक हात जोखिम भएर गए
त्यसले भगायो ।

(१९)
हिन्दूका बजे तुरही धूँ धूँ
शङ्खका लामा एक कोशे भूँ भूँ
समर बाजाहरूका पूँ पूँ
ढ्याङ्ग्राका ढरर ।
अस्तको लाली हुँदैमा आज
हिन्दूको रह्यो गजबले लाज
सकेन छिन्न यवनले ताज
धन्य है हाम्रा पृथिवीराज
म्लेच्छका फौज-
हरूलाई धपाई
कँपाउने थरर ।

(२०)
लौ आज माला जाई र जुईका
कल्की ल्यौ उज्याला ।
कहिले पनि नमर्ने बाल
धूपीका दियाला ।
अमर ज्योति आकाशमा गाँस
डिल्लीका शहरमा ।

लावा र अबीर बर्साऊ सारा
विजय प्रहरमा ।
नाच र गाऊ वीरका यश
डिल्लीका शहरमा ।
बनाऊ गीत तराई-जीत
जोशिला रहरमा ।
गलामा गला लाएर आँशु
छोरा र छोरीका ।
सुनाऊँ कथा कसरी यवन
भागे ती घोरीका ।

(२१)
काक र गिद्धहरूले खान्छन्
भारतका दुश्मन ।
अब ता फेरि आउने छैन
त्यो कालो यवन ।
भारतकी कालीलाई बत्ती बाली
रुधिर चढायौँ ।
अब ता हाम्रो रक्षा है गर्लिन्
यवन भगायौँ ।
अब त ल्याऊ वीणा र तार
मधुर बजाऊ ।
पृथिवीराज चौहान नाममा
नाचेर गीत गाऊ ।