Jump to content

Prithviraj chauhan/dasham sarga

From Nepali Proofreaders
Revision as of 19:53, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prithviraj_chauhan.pdf" from=107 to=115 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
दशम सर्ग

(१)
कर्पाटकी नामकी द्वारे
दरबारमा बसेकी ।
संयोगिताकी सुसारे थिई
दिलमा घुसेकी ।
उसैले कथा सुनाउँथी धेरै
चौहानवंशका ।
वीरका कथा भारतका ज्यथा
ईश्वर अंशका ।

(२)
दुई जना साधु चौपट्ट जान्ने
गजबका जपका ।
आएका छन् रे भनेर खबर
त्यसले ल्याई, साधु रे ठूला
जगत्‌मा सबका।

नबोल्ने धेरै, वीनमा बोल्ने
गाउने चेलाले ।
रुलाउने सबै हृदय रबै
लयमा हाल्दै उचाल्दै छाल्दै
उचित बेलाले ।

(३)
शाहजादीलाई सुन्नको मन भो
हुकूमले रानीको ।
बगैंचाभित्र तिनलाई ल्याए
सुन्नको रहर भएर सारै
मधुर कुरा
दिव्यका वाणीको ।

(४)
चन्दाले त्यहाँ हृदय चोरी
चराझैँ गीत गाए ।
मधुर कोमल तीव्रमा सबै
तार ती मिलाए ।
ईश्वर कस्तो सुन्दर छन् रे !
भाषामा हुन्न बयान झन् रे !
सीमित भाषामा ।
खालि है गानको रुनझुन बन रे ।
मिर्मिरे रङ्ग बनाई सुन रे !
दुई अर्थ हुने गुन र गुन रे !
भावका आशामा ।
रुँ रुँ मा रुन्छ कुन र कुन रे !
बनाई आकाश सुन र सुन रे !
प्रेमको पट भावको बुन रे !
कुमारी दिलको मधुर दिलले
सपना नाच्ने छुन र मुन रे !
अनौठा मिठो हृदय धुन रे !
चकोरलाई लाग्न खोज्ने है जून रे!

कुसुम हुँदा छुन र मुन रे !
बादलबाट पाएको सुन रे !
फूलमा भन्दा वासना गुन रे !
मधुर स्पन्दनमा ।
कुमारी दिल आत्माको ज्योति
खोज्नलाई डुल्दो लिएर मोती
आँखामा प्रेमका फूलका लोती
जुहारी दिन दिन बिहान खुल्दा
आशाका नन्दनमा ।
तिर्सना मधुर, प्यासकै सुन्दर
खोलाको कलकल
मोतीझैँ जलजल,
काममा बोल्दो हार्दिक पलपल
उरका हुँदा मधुर भाव
सपना बिपना दोसाँध भुलभुल
तारामा देखिने प्रेमका आँशु
भएझै फल्ल दिएर टलपल
फुलेका अधर बोलेकै पलपल
प्यासका भावमा ।
जो भाषा छैन बँदिलो शब्दी
जो खोज्न हिँड्छन् नालामा अब्धि
कोयली दिलमा वसन्त रच्दी
मञ्जरीहरूमा फुटेर चुम्दी
सत्यको दावामा ।
नरम गर्थी त्यै भाषा रुनझुन
प्रेमको रूँ रूँ लगाई झुनझुन
आँखामा टलपल
हृदय जलजल
पारेर भर्थी प्रेमका पलपल
सुन्दरको मोहनी निकाली झलझल
उज्यालो पारी आँशुले जल-थल
जीवनको अधर बनाई भलभल
प्रेमका भाषामा ।

संयोग वियोग बनाई मधुर
मिलनका आशामा ।
त्यो खोजको बोली यो खोजको चोली
सुन्दरका स्वामी सब चीजका नामी ।
महिमा विशाल जो अन्तर्यामी
कुऊँ र कुऊँमा ।
वेदना दिलका जो मधुर बन्छन्
समयलहर जसलाई छुन्छन् ।
जसबाट वसन अप्सरा बुन्छन्
जसलाई छुन देवता रुन्छन्
ती मधुर प्रेमका यी सबै रुनझुन
रुऊँ र रुऊँमा ।
पग्लेर आउने कोमलको छाती
चिडिया रवमा अनेक ताँती
रङ्गीन पत्र फिंजाई जाती
मीडमा जान अनेक भाँति
साँझका बाली गुलाबी बाती
आकाशमा उडेका छाती
पिउ र पिउमा ।
ती सुन्दरलाई दिगन्त भर्ने
सब चीजभित्र जीवन भर्ने
दिव्यको प्रेमको बासना छर्ने
मधुर पार्न कुडमल चिर्ने
प्रेमको भेटी आँशुले तिर्ने
रुझूँ र रुझूँमा ।
कुमारी दिलका वासना जस्ता
मधुर रुनझुन
सुन्दर वीर स्वर्गको तीर
तर जो सामु र सबैतिर
साधु र गुरुमा भरिभर
हृदय वीनका
मधुर झन्का

मीड र फन्का
मसीना तिन्का
अनेक ऊँ ऊँमा ।
जसलाई सम्झी प्रेमको दिल
मधुर रुँ रूँमा ।
यो जगत् भर्ने महिमा जसको
जसको अधि अरू छ फुसको
जसलाई भनी मधुर रसको
दिलको भँवरा ।
भुऊँ र भुऊँ बीचमा हुँ हुँ
गरेर रुन्छ रूऊँ र रूऊँ
त्यो मकरन्द दिलको छुऊँ
प्रेमको रस मधु पिऊँ
जो लिन्छ सुन्दर ।
हृदय कमल
भित्रको कमरा ।
सूर्यझैँ जसले सुनौला बाजा
तिमिरहरूमा ।
शरझैँ तीखा आकाशमा भरे
लाल त्यो रुधिर दुश्मनको छरे
जयको ध्वनि कुञ्जमा भरे
छवि छाई तरुमा ।
पृथिवीराजा, देवका दाँजा
कीर्तिका सधैं हरिया ताजा
जसको धनुष ।
बादल फारी रङ्गले भारी
आकाशमा हुन्छ महिमा धारी
बर्साउन पीयूष ।
धन्य है नाम, धन्य है काम
अनन्त वीर, कीर्तिका धाम
धरणी पतिका ।

स्वर्गका पनि तिनै छन् राज्ने
न कोही तिनको जगत्‌मा दाँज्ने
आँशुले बोल्छन् जरामा माझने
भक्तका रतिका ।
तिनैलाई भज, तिनैलाई सज
हृदय मन्दिर ।
तिनै छन् सामु वरि र परि
अनेक चित्र थरी र थरी
अनेक भेष साधुका धरी
अनन्त सुन्दर,।

(५)
सुनेर टलपल भएकी हाम्री
कन्नौज कुरङ्गी ।
सूचना घुसी हेर्दछिन् राम्रो
हृदय झसङ्गी ।
साधुको भेष, मुहार बेस
ओजको उज्यालो,
वीरको छाती डालडोलका जाती
साधुको भेष लिएका हुन् कि
भनेर आफ्ना हृदय देवले
यो छल समाती ।

(६)
लाल भयो गाला, गुलाफको ज्वाला
लजाई लुके ती आँखा काला
एकै नै छिनलाई ।
होवैन होला भनेर फेरि
कूनाले जाँचिन् मुहार हेरी
शङ्का भो तिनलाई ।
कर्पाटकी नामकी द्वारे
को मुख फर्केर ।
के होला भनी जाँचेर हेर्छिन्
नजर तर्केर ।

(७)
मुसुक्क हाँसी इशारी दिई
औंलाले सलक्क ।
उठेर हिँडिन् जुरुक्क तिनी
हेरेर पुलुक्क ।
क्यै पर गई आँपको गाछी
लिएर सहारा ।
बोलाई भन्छिन् सुसारेलाई
गालाकी लाल के गरूँ चाल
चञ्चल पलको बढेझै हाल
बराबर हातले गालामा छामी
फर्केर हेर्दी वीरमा नामी
कुनाकी अधारा ।
"छिः कस्ती उल्लू नभन्ने अघि"
आँखाले तर्केर ।
शरापे जस्तो गरेर त्यल्लाई
रीसले में कर्केर ।
“के चढाऊँ भनी जा सोधिदेन"
भन्दछिन् हाँसेर ।
"अत्यन्त राम्रो लाग्यो त्यो गाना
फेरि र फेरि सुन्नको चाह
दिलको भएर ।
लाज लाग्छ तर, त्यो ठाउँनिर
गरम हुन्छन् लालीले गाला
के गरूँ भनेर ।"

(९)
चन्दाले गुरुसँगमा सोधी
जवाफ यो दिए ।
हृदय मात्र प्रेमको दिव्य
चाहिन्छ भन्ने आज्ञा भो लभ्य
जगत्‌मा त्यो भए।

(१०)
लिएर आइज छिटो जा झट्र
त्यो मेरो तस्वीर ।
दगुरी तब सुसारे त्यहाँ ।
होला अबेर ।
क्यें पर पुग्न पाएकी थिन
बोलाइन् इशारी ।
"कलम मसी लिएर आइज ।”
दगुरी उपारी ।

(११)
आँपको गाछी राखेर साछी
छेस्काले कोरेर ।
"पृथिवीराजकी सधैं की दासी"
लेख्दछिन् आँखा प्रेमका लागि
जलले भरेर ।
पुछेर फेरि चिहाई हेरी
लाजले लुक्दछिन् ।
ढुक्ढुक चली अप्सेई छाती
कमल कर गालामा जाती
हवाले फूलमा चपत दिए-
समान कुक्दछिन् ।

(१२)
मसी र कलम लिएर आई
तस्वीर साथमा ।
लेखेर आफ्नो उज्यालो नाम
प्रेमीको थप्छिन् ती उपनाम
लहरे डिको लगाई निको
काँप्लाझै हातमा ।

(१३)
साधुले दिए तस्वीर साटो
सुनको बारामा ।
रेशम बस्त्र लपेटिएको
कार्चुपी तारामा ।

कर्पाटकीले लिएर लगिन्
ती शाहजादीको ।
छातीमा लगाई कुंदैर चलिन्
दरबार खोपीमा ।

(१४)
बिदा है लिई ती दुई चले
शहर किनारको ।
कुटीका तरफ, जाँचेर हरफ
चाँदनी मुहारको ।