Jump to content

Munamadan/madan bhot jane belama

From Nepali Proofreaders
Revision as of 19:11, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Munamadan.pdf" from=10 to=12 /> {{center block| {{rule}} <small> <references group="✸"/> </small> {{rule}} }} <pages index="Munamadan.pdf" from=13 to=14 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
मदन भोट जाने बेलामा

मुना–
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा ! विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए !
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !

मदन–
हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा,
अनारदाना दाँतका लहर खोलेर हाँस न,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन,
प्यारी ! बिदामा हाँस न !

मुना–
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !

मदन–
नभन त्यसो ! बुझ न मुना ! थुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !

मुना–
फुलेका केश, गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ह्लासामा गएर ?
हातका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !

मदन–
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा,
ती आमालाई दूधको घुड्कोले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पुर्‍याऊँ,

यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !

मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर र शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]



  1. ✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
    ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
    क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
    खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
    छहारी दिने रसिलो बादल झुकेको बिलाए
    शीतको दाना सुकेको फूल
    खङ्ग्रङ्ग भई सुकेर मूल


वैलेर झर्ली नबोली, बोली को सुन्ला वहाँ ए !
प्यारा ! को सुन्ला यहाँ ए !
सवारी हओस् भन्नै ता पर्‍यो मुख थनी मुटुको
नरुँदी चरी पिउनेछ मरी आँसुको घुटुको
कमलको मुटु खुम्चेर मर्छ
भ्रमरा-दर्शन त्यसमा पर्छ
तिमिर छाया मुख बाउँछन् धुइरा, शीतले काँप्छ तन
प्यारा ! शङ्काले काँप्छ मन !

मदन–
पुरुषको प्यारी, सङ्ग्राम संसार, विजय उसको सार !
पौरुषविना पुरुष हुन्न तरवार विनाधार !
सङ्घर्षद्वारा बिजुली बल्छे, विक्रमद्वारा दीप !
तिमीलाई पाउन म दूर जान्छु झन् आफ्नो समीप
देहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछ
चौमासको वियोग किन हो ज्ञानी ! तिमीलाई तर्साउँछ
दूरतालाई गिज्याउँला हामी तिर्सना चढाई
झन् तिखो प्यासले सँगसँगै ह्वौँला मुटुलाई मिलाई
तिमी ता मेरी जीवन-ज्योति बाटाकी दियाली
ननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँगाली
तिमी छौ पर भन्ने यो डर मलाई हुँदैन
हिमालपारि, हिमालवारि,
कल्पने चरी भुर्भुरी गरी,
तिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैन
प्यारी ! पङ्खले छुँदैन ।
पुछ्नद्यौ आँसु नजरका दाना बरबर गुडे झन्
पर्वत-खाडी-सागरले छेक्छन् प्याराका जोडी कुन ?
कालको वारि, कालको पारि एक वस्तु अमर छ
दुइटा जोडी दिलको प्यार,
दुइटा आत्मा जोडिने तार

देश र काल नाघेर चल्छ इश्वरको वर छ !
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो !
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो !
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न !
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर, बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !