Jump to content

Champa/adhyaya 3

From Nepali Proofreaders
Revision as of 18:41, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Champa.pdf" from=30 to=44 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
अध्याय ३

चम्पालाई ठाँट, सिँगार खूब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

"आँखीभौँ सिसाकलमले लेख्या जस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"

"छुसछुस कुरा नलाई चित्त बुझ्दैन रे ।" जेठी बुहारीले टीका थपिन् ।

माहिलीले भनिन्, "आँखीभौँ नटिप्ने ता को होला र आजकल ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर ! झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । रातिराति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोशाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी, फिल्मका गीत हरहमेशा गाइरहनुपर्दछ … नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मतानमा पलेँटापछाडि कान थापिन् ।

"चौपट्ट ढाँचा है नेपालेका छोरीका त !" पोखर्‍यालपुत्रीले टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्, "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुर्मुरिएर उभिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

"ज्यादा यत्ताउलो भा’ बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन्, "कृष्णको तस्वीर लिएर छाती लगाएर, म्वाई खाएर उधुम छ ।" सासूले एकैछिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्, "कान्छाबाबूको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन । तर…"

यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्तथिन् रिसले । पाखुरा जर्किन्थे ।

तब सासूले मुख फोरिन् । "ए, क्या हो ? तेरो चाला आजकल ? के भन्ला ए दुनियाँले पनि ? … अवस्था हेरेर पो चल्नुपर्छ… कान्छो टोखामा पुग्या छ । तँ कस्बीसमान ठाँटिएर यसरी बस्ने ? कतिको फा, कतिको लाली तिमीहरूको ! आँखीभौँको गति हेर । फूलचनले खौर्‍या जस्तो छ ए !"

चम्पाले दुई जेठानीको मुखमा आगोले हेरिन् । भौँ गाँठिन् । आँखाले झपारेर जुरुक्क उठिन् ।

"कँठेनीहरूले सभ्य शृङ्गार देख्या भे पो त कहिल्यै !"

सासू उफ्रिन्, "जान पाउन्नस् बाहिर … बस् ! कल्लाई… कँठेनी भन्या ए शहरिया ?"

"छन् नि कोही-कोही यहाँ ।" पहिलो नजर पोखर्‍यालपुत्रीतर्फ दिएर, दोस्रो आँखा सरदारपुत्रीतर्फ ।

"त्यसरी आफूभन्दा ज्येठा मान्नेलाई बोल्न हुन्छ ? चुप लाग् । कसूर तेरै हो ।"

"लुगा लगाउनु पनि अपराध रहेछ अब !"

"समयले पो हुन्छ सबै कुरा ।"

"आफ्नो समयमा को कम छन् र ह्याँ ?"

"तँ तात्तिरहिछस् चाँडो । तात्ने पोखिन्छ बुझिस्, अलि ओठ सेला ।

कामकाजमा पटक्क चित्त छैन ल । त्यसो गर्न हुन्छ ?"

"साग नकेला छैन । कूचो नबढार्‍या छैन । बिछ्यौना तह नला छैन ।"

"अँ !… भर्‍याङ तलमाथि पनि नगर्‍या छैन भन्न ।"

चम्पाले चारकुने चटक्क छोडेर बाहिर निस्किन् ।

"हेर, रिसाही !" सासूले देखाइन्, "फन्क्या हेरन । पख्, यसको मेख मार्नुपर्‍या छ एक दिन ।"

यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के… रामकान्तलाई सिन्दूरे जात्र गरेर घर भित्र्याए । ठूलो भाग्यले छोरो बाँच्यो भन्ने ठूलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा सारा फुकाइदिएको थियो तर सुवासिनीदेखि परहेज राख्ने कुरामा जोड दिएको थियो ।

रामकान्त गजबसँग मोटाएका थिए । खुब लाललाल गाला हालेका थिए । टाउको डब्बल देखिन्थ्यो । मान्छेको चोला नै फेरिएको थियो । अब सबको मुटु ढुक्क थियो – रामकान्त बाँच्यो ।

एक हप्ताबाट रामकान्त साथीभाइकहाँ जानु, डुलाडाल गर्नु, हँस्सीठट्टामा भाग लिनु सब चीज गर्न लागे ।

बराबर चम्पा कोठाभित्र पस्दथिन् । एक कोठा दिइएको थिएन तापनि उनलाई बराबर आउने-जाने कुरामा ज्यादा रोकावट राखिएको थिएन । यस आवतजावतमा खतरा जरुर थियो । आमाचाहिँनीका आँखा देख्थे । तर उनले च्वाट्ट मुख फोर्न सकिनन्– छोराको डरले । बुहारी चम्पालाई होशियारी मात्र दिएकी थिइन् – त्यस्तै छोरालाई पनि तर रामकान्त आफैँ बराबर काम अर्‍हाउन बोलाउँथे ।

विवाहको जखडबन्धले बाँधिएको प्रफुल्ल बैँस आत्मप्रकाशनको अभावमा आफ्नो चुत्थो उपायतिर पनि बराबर लहसिन खोज्दथ्यो । प्रेमबिनाको पतिलाई नाटकीय नमूना बनाएर सिनेमा खेल्न चाहन्थ्यो । फिल्मस्टारको चरित्रको प्रारम्भतर्फ अग्रसर थियो । ऋषिमुनि मशीहाले "ह्या" भनिदिँदा लाखौँ प्रकृतिका स्वाभाविक गतिहरू रुद्ध भएर स्वाभाविक प्रकाशनदेखि खुम्चिन्छन् । प्रेमदेखि डराउँछन् र विवाहित जीवनको पतिपत्नीसम्बन्धी आखिरी नाटकीय आश्रयको मात्र आधार लिन्छन् । तर पतिपत्नीको घरेलु प्रेमलीला अभिनय मात्र हो, यथार्थ प्रेमको जीवन होइन । यसभन्दा सजिलो फिल्मस्टारी आकाङ्क्षाको पूर्ति हम्मेसि पाइँदैन । यसकारण विवाहिताहरू लोग्नेसँग प्रेमको नाटकीय रङ्ग पाएर सन्तोष लिने कोशिश गर्छन् ।

वसन्त ऋतुको समयमा एक दिन रामकान्तले चम्पासँग भने, "कीचक ! तिमी यस्तो हलक्क बढौलीजस्तो लाग्या थिएन मलाई । के विघ्न सप्रेकी ! हाम्रो घरको खाना त, पहाडिया भए पनि , हँ ?"

चम्पा, "कीचक किन मर्जी भा होला ? राम्रो नाम पनि नभा जस्तो !"

"कीचक भन्या बुझिनौ ? बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ न । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाकी सुवासिनीको नाम बोक्सी, विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रङ्ग आयो ?"

"के नाम राख्या होलान् छिः ?… नेप्टी रे, चेप्टी रे, आलु रे,

ग्वाङ्‌रे रे, डेब्री रे, ड्यौढी रे,… नेपालमा सुवासिनी मान्छेलाई 

चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देशी मधिसे नै हो कि अङ्ग्रेज ।"

"जी हाँ ! त्यतिविधि रिसाएकी ? हार भनूँ त आजदेखि ?"

"नाइँ ।"

"के विघ्न बढेकी तिमी । म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यौ ।"

"के गरेर घट्ने होला खै ?"

"कोलमा हाल्नुपर्‍यो… हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।

"मलाई सुवासिनी निषेध छ, के गर्ने ?… चम्पा !"

"केही पनि नगर्ने ।…"

"अङ्ग्रेजी युवकयुवति अभ्यर्थना गर्छन् । जीवनको वासन्ती समयमा मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन । …के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छ्यौ !"

"पर्दैन ब्यारे । म त राम्री छैनँ ।"

"पत्याउँछ दुनियाँ ? वाह… भोटेनी पालिस लाए मात्र नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्या जस्तो ! फटाही !"

"उस्… कति राम्रा चिज देखिसक्या आँखाले ।"

"म । एडस्डेमोना !… तिमीले ता बितायौ बा ।… म ? मनजोगी । आजकाल पो जपमाला छोडेँ ।"

"माफ पाऊँ न ! हाम्ले के भन्या छ र त्यस्तो नराम्रो !"

"ए बिजुली ! म त तिम्रो नाम बिजुली राख्छु आजदेखि, हुन्छ ?"

"हवस्… इच्छा…"

"कति राम्रो हलुवावेद… !"

ढोका कर्के थियो । आमाचाहिँनी भर्‍याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवना सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।

"ह्या ।… फटाहा !" चम्पाले गाली गरिन्, "कस्तो मनजोगी, उस् ! उस् स्स स्स !"

आधा कपाल फुलेकी रमादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।

"बाबू ! कस्तो छ तँलाई आजकल ?"

"बेसै, आमा ! बिलकुल पहलमान ।"

"त्यस्तो भएर मात्र हुन्न, एक-दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ बाबू, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द– आजदेखि । हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि ! मार्लिस् तेरो लोग्नेलाई, थाहा छ ?"

"कस्तो साइत पर्‍या !"

"चम्पू ! ल आइज अचार पार्नु छ ।"

"हवस् !"

चम्पाको गाला वसन्तपुर भयो ।

उनको जीवनको प्रथम पौरुष स्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा, असजिलो लागेको थियो । उनले फिल्मको अशोककुमार नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासी अधरमिलन या उरमिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । तर उनको आत्माले "कस्तो कुसमयमा अर्कालाई छुन आ होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?"

चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मनमन उनले सासूको नाम दिएको थियो– घोरमुखा ।

"बस न !"

"अँ, मार्दैनन् अर्कालाई !"

"कसले मार्ने ?"

"कुन्नि त । खुर्सानीको हातले गाला मुसारिछु भन्छु । माथि ज्येठानी-देवरानीहरूको आँखा त्यस्तो सियोजस्तो छ ।"

चम्पा गएर ऐनामा गालाको परीक्षा गर्न लागिन्, के लाग्या छ र !

"के ? के ? अहो ! छुँदैमा हातको छाप लाग्छ त !"

"क्या हो । क्या हो ।"

"छिः" उनले भनिन्, "कसरी माथि जाने ! थाहा पाउँदैनन् ?" "के आम्मै… के छ र ? तिम्रो गालामा भन्या ? अचम्म !"

"भो बा ! म त फेरि हजूरकहाँ फर्केर नआउने बा ! डर लाग्यो !"

चम्पा निस्किन्…

त्यस दिन माथि घरमा ज्येठानीका आँखा हाँसोले क्रूर देखिन्थे । सासू बूढीले बताइसकेकी थिइन् ।

"तरुणाहरूको आर्कै रङ्ग, आर्कै रोशन ।" चुनुले खिसी गरिन् !

"म भा भे त तिमी मोरीलाई काँचै मासु खाइदिने ।" बुलु बोलिन् ।

"यसो कोठामा बराबर जाने गर्नू, पाउ दाब्नू । कस्ती लाटी !"

चम्पालाई असह्य भयो । उनी आँखा तरेर भान्साकोठाबाट तल ओर्लिन् । "घर भन्ने कस्तो बिकम्मा जेल हुन्छ । अर्काको मानो खानु, त्यो पनि काम गरिन भनेर सासू ज्येठानी, बाहुनीको षड्यन्त्रले गर्दा बराबर पेटपुग्दो भाग पनि नरहने– बराबर । आफूलाई भनेर दिएको कोठा । त्यही एउटा कोठामा पनि पस्न नहुने । वचनको कोर्रा खानु उस्तै । खिसिटेप्ली उस्तै । कैदीहरू सडक पेल्छन्, बुहारीहरू मस्यौटा । ढिक्कीमा समेत जा रे । मुसलले हात खाइदियो भने, डुँडो भयो भने, अनि मुछिन्छ ढुटोमा सेताम्य भएर केही । वसुन्धरीले पाउडर ला जस्तो एउटा रमाइलो गरूँ भने छैन । के जीवन होला नेपालीहरूको दालभात गुदगुद, कूचो, मस्यौटो, ढिक्की, जाँतो । केवल भान्साको क्षेत्रमा । कसौँडी, ताप्केसिवाय साथीको नाममा बन्द । जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन्, आफ्नो त्यति पनि छैन कोठाभित्र पसी रे । किन नपस्नु त कोठामा ?

बिनसित्तिको बुहार्तन ! पहाडिया सासू ता नपरोस् छिः कसैलाई । के जखडबन्धी ! फलामे बोलीले बैँसको आङ कस्ने सार्‍है ! धोती चुन्न, दोलाइँ पट्याउन, कूचो लाउन, टेबिल सज्न, सम्याउन पनि कोठाभित्र नपस्नू रे ! पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? छोरालाई पक्रन गा छैन क्यारे उनको ?" यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालाभरि रङ्गी-बिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एकताका बैँसको मीठो रूपौली मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निक्कै मजाको कुरा हो । रावणको चोरी भाव आयो । चोरी सीताको सौन्दर्य एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक कोठामा थुनिनु, झिँगटीमुनि बस्नु, एक जनाको सम्पत्ति र एकलौटी ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? दाल, भात, डुकु पुगनपुग दासत्व– एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्‍यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दरी भनेर हँस्सी-दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । उनको सासमा जलनको मिठो दबेको उच्छ्‌वास छ न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कुमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो, अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस, खत्तम । स्त्री आत्माको चाख या प्यासको बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हकि हाम्रो नेपाली जीवन ?"

चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतीको हुनुपर्दछ । यस बेलामा जस्तो झनक्क रिस कहिल्यै उठ्दैन । यस बेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँकको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।

चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्पचित्रमा कसर हुँदो हो; गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा, पातला दिवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचम्सुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन । तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिईकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म-पाप लाग्छ । यताउति विचार गर्नु– त्यो पनि आफ्नै । तर जरुर प्रकृतिले उनलाई योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।

"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी, सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली, बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन् । बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ । पहाड मात्र ठूला छन् । यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।

अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् । ठीक यसै बेला चिमिरे, च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।

उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडा रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो ‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही पनि नबोलेकी ?"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ आर्कालाई । म जाऊँ क्यार !"

रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन् त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"

उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर मसँग कुरा गरिरहनको सल्लाहनियताउपर चिन्तित छन् ।"

यी विचारले चम्पा तुरुन्त ढोकाको फग्ल्याँटो उघारेर खरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतीहरु गर्दछन् जो स्वामीलाई कहिलेकहिले निराश पार्न या कज्याउन चाहन्छन् ।

"ए ! ए चम्पा !" सचेत रामकान्तले गालीको टोनले बोलाए– मानौँ टेबिलको मसलदार तरुवा माछो टिपेर हिँडेको बिरालोलाई हप्काएझैँ, तब उनी फेरि गौडदार बने ।

"बैँस मीठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो । तर मेरो अवस्था खराब छ । हुनत आमाले भन्नुभएको कुरा बेमुनासीब होइन— ब्रह्मचर्यपालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा त्यति राम्री, त्यति सुकुमारी, त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानौं उनको पुष्पसदृश विकासमा केवल माहुरी र भँवराको खोजको सिवाय नक्कलझक्कल नै थिएन । पोशाक उनको सँगी थियो । राम्रो हुनु धर्म, शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानौँ प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो, "जीवन ! जीवन ! प्रेममय जीवन !"

यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? त्यस बेलासम्म चम्पा सेती, मैली, गोधूलि र आँशुकी तारा हुँदी हुन् । उनलाई इन्द्रेणीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास– मारूँ, मारूँ नीलोको मधुर त्रासको गाढापन, पहेँलोको धनी वासन्तिकता, इत्यादि, इत्यादि शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अर्धमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरु मरेका नागिनीझैँ अजीव रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउँन खडा रहन्थ्यो ।

उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् । तर यस प्रफुल्लतामा उनी आफूका निम्ति एक महान् प्रहसन थियो । खै तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको स्वरूपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?

उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो ।

उनी बैँसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ?

उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ । तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे । तर दबाब प्रकृतिले कानेखुसी गर्न आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई वरावर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन । "म बुद्धदेवजस्तै ता कहाँ छु र ?"

प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित बदमाश बैँस अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अँध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौँ ऊ आफ्नो जगत्‌को सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको पौरखलाई के विघ्न डरलाग्दो ?

"रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे । उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्‍ह बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो । हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको साधना गर्न लागेको हुनुपर्दछ ।"

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"

उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो । भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? …पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ— कुनै धर्मले चम्पालाई टि.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टि.बी. लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।" त्यसपछि उनी यौनसाहित्यतिर लागे । डि.एच. लारेन्सका निबन्धहरु अध्ययन गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल यौनविवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी, "यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा !"

उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक, क्षयक थियो । यदि यौनभाव यस्तो पवित्र वस्तु हो भने आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, वल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक शुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस्, यो सच्चा मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो— अपरिभाषेय कोही ।

"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो । तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? … तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । किन डराइस् ?"

तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।