Jump to content

Champa/adhyaya 2

From Nepali Proofreaders
Revision as of 18:41, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Champa.pdf" from=16 to=29 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
अध्याय २

कान्तिपुरको जनसङ्ख्या विचित्र तवरले बढिरहेछ । विदेशीको त्रासलाई उनले गढी राखिदिएकी छन् । स्वदेशीतर्फबाट पहाडमा जीवन र उपार्जनको प्रयोग हुन्छ । जब पहाडी प्रयोग सफल भएर मोटाउँछ, मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् । मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो । पशुपति बूढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको धानबालीको ठूलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे रे र विचित्र बूढा बाबाको प्रभावले तर्सेर हच्केर "बूढो धोबी त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन" भनेर फर्कन्थे भन्ने भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवी रुद्रमती) धोबीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे ! उनको खाडीमा जलेको उपजदार क्रियाले पशुपतिबाबालाई बेस बाली उमार्ने र उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर बानेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको झल्कने बालुवाको सिताराले झलमलाउँदी वन-बगैँचाले सदा लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी पटाइ तथा जमिन तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु घेरामनि विशाल फाँटमा मानव शिल्प-कलाले आक्रमण गरेको थिएन । केवल सरकारतर्फबाट बिरुवा लगाइएको, इँट घेराले सिँगारिएको मैतीदेवीको मूल सडकले मात्र यस खाडीको विशाल वक्षस्थल बिचमा चिरेको थियो ।

तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण गर्न शुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको ।

उनी पूर्व तीन नम्बर ओखलढुङ्गाका थिए । ओखलढुङ्गा कविको चाहिँ अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुङ्गाका चोसेमोसे घर, जाली खड्का र चतुरे कार्कीहरूको ज्यादा जमात भएको बेलामा पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजी मात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कर्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको सम्भावना परीक्षा गरूँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोका मिले । एक जना मास्टरबाजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू गजबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ! आकाशले फूल टिपिहाल्ने पो, पच्चीस हजारको काम उठाएको पन्ध्र हजार ता ओठैओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हजारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाङ्ग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारीद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठन्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरीअगाडि अड्दथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति सार्‍हो हेला गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे ! बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त ।

पं. रमाकान्तले राजाको चाकरी गर्न लागे, धेरै दिन फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालु, बेठालु,बुद्धू सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमान्डचीफको पेवाको बन्दोबस्त उनले पाए ।

दुई-चार चीज यस्ता हात लाउन पाए केको दुःख ए ! व्यापारमा भने अघ्घोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ! एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो ।

अब छोराछोरीहरूलाई अङ्ग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ ।

उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधुस । तीनौटा पोइलाई फ्याँक्न सक्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तह लाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँस्वाइँ मस्यौटा, चाइँचाइँ जाँतो, भ्याङलाङभ्याङलाङ ढिक्की । तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि नटेर्ने अब, त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएका थियो । उनको पनि विहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पम्पा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ।

साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बाङ्गो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अङ्गुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डन्डीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टङ्ग्रङ्ग, आँखा च्याँसे । तर अघोर ठाँटिनुपर्ने उनैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डन्डीफोरका चोसामा हेज्लिन स्नोको हिउँबुट्टा – सेता कोठीका रमाइला स्वरूपमा लागेका देखिन्थे । भौ छाँट्नुपर्थ्यो । नेपाली बाबूसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि डिल्लीबजारमा मसहुर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा भेला हिउँदमा– अथवा कश्मीरा ! मान्छे च्यान्टे ! कालो कोट कश्मीराको या जमोठको आँगमा नचढाई, निक्खर कालो बलि चाहने महाकालीझैँ उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी चक्षुविशेषज्ञकहाँ पुगेका थिए ।

"के हुन्छ बाबू ?"

"के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।"

"कुखुराको फुल खानुपर्छ !"

"छ्या ! बाहुन म त ! के भन्या ?"

"हँ ? कलकत्ता जानुभा छैन ? पहेँलो त नजरको औषधि त्यसको, बुझ्नुभएन ?"

"होला, तर हाम्ले खानु कसरी नि ? भान्साँ उकाल्छन् र ?"

"व्यक्तित्व चाहिन्छ … त्यति लुकाएर खान नजाने के काम गर्नु- हुन्छ त दुनियाँमा ?"

"फेला पर्‍यो भने ? मारेन ?"

"के गर्छ त ? … प्रायश्चित्त छ नि … चश्मा लाउने ?"

"तब के गर्नु त ?"

"शून्य पावरको लिनोस् न त । के ? … ल यो फस्ट किलासको क्रुक्स । असी रुपियाँ ।"

उनको चौचश्मी व्यक्तित्व बाराटमा ठमठमाउँथ्यो या पाङ्ग्रामा बग्थ्यो । अलकत्राको माग गरेर जसको अभावले उनी नेपाललाई गाली गर्थे- "… सिंहदरबारको सडक रे ! छीः छीः छीः ! कति खडखडा … नदीको ढुङ्गा छुसछुसेले पेल्या हेरन । हामी वाग्मतीको बाटो हिँड्छौँ नि बरु । ईश्वरले बना छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त नौजवान साइक्लिस्टलाई ? कति गरीब सरकार ।

त्यत्रो सिंहदरबार बना के काम लाग्यो ल ? गाडी ओर्ल्या जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बना ? नेपालमा म्यूनिसिप्यलिटीले के गर्छ ? गाँजा खाने जागीर दिया त होइन ?" इत्यादि … नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरकारको सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ।

उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो, "म ता च्यान्टा मान्छे ! मैले बिहे गरेँ भने त चीनीयाँ मैयाँ, बुझिनस् कि ?"

एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ हँ ?" भनेर च्याट्ट बोल्या त, ए चाङ वाङ चुबु मारू कारू कानवान गरी, म ता सुइँकुच्चा ठोकेँ बा ! हाँस्दाहाँस्दा हैरान । कस्तो ठिक्क गुरुङसेनीजस्ती हँ ?"

आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मङ्गोलियन जातिलाई अत्यन्त हेलाँ गर्छौ, बा ! तँ एक जनाले जाति मिलाउन लागिस् कि कसो ए ?"

रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीयाँ च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।

"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुनजस्तो, कपूरजस्तो होइन ।"

यस्तो कुराकानी जापानी, बङ्लो इत्यादि विषयमा हुँदै थियो । जापानी चित्रपटमुताबिक बुढानिलकण्ठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाँट कल्पनामुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कण्टहरू "मैले देख्नु न सेख्नु ! वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतसँग ज्येठा दाज्यूले बिहे गरे, फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग … बाघसँग कि ढोईसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने पो कुरा छ । मेथी चम्सुरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ? कुल रे ?… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन्, काम गर्दैनन्, गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जुवा खेल्या हो र ?"

यस्ता तर्क-वितर्कमा रामकान्तबाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कम कदर देखाउँछन् ।

उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अङ्ग्रेजहरू कति बेस ! प्रेमको बाटो त रोक्तैनन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । "अरूको आँखा, हाम्रो जिन्दगी, वाह !… हामी पुतली होइनौँ क्यार ? अथवा चल्लाचल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"

रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुन्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीव्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अङ्ग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनलाई अब कस्ती होली भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।

"कन्या अत्यन्त उम्दा छन् बाबू ! लाखमा रोजा ।" आमा रमादेवीले भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैँचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पिताको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।"

"होइन" आमाले सम्झाइन्, सबले हेरिसकेको, बाबू ! तिमीहरू मात्र आँखा भा छौ, अब दुनियाँमा ? अरूका आँखा छैनन् क्यार ?"

"अँगार, अँगार अरूका आँखा काँच अरूका नजर, आमा ! तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बुढाथोकीको वचनले हुन्छ ?" रामकान्त जागे ।

"अझ अप्सराजस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु ! जान त, तँ आफैं खोजेर ले ।"

यति वचन सुनेपछि रामकान्तलाई कन्या नराम्री रहिछन् भन्ने त भएन । अप्सराजस्ती ! फस्ट किलास ! लाखमा रोजा ! बेस … तर ती बकहरूलाई अप्सराको कल्पनै छैन ! … अस्तु … !

रामकान्तले कन्या हेर्न जाने निश्चय गरे… साथीको मोटरसाइकिल मागेर भडभडाउँदै वाग्मतीपारि पुगे । एक पसलमा मोटरसाइकिल राखेर सिगरेट किने । हेर्ने भाडा पसलेलाई दिए र श्रीकान्त सुब्बाको घरको बोटो सोधेर अन्दाज गरिएको वरिपरि एक चक्कर लगाउन थाले । घरको पछाडिपट्टि पुग्नासाथ उनले होचो पर्खालबाट सानासाना ठिटीहरू खेल्न लागेका देखे ।

बगैँचा रमणीय थियो… सुन्तला, हलुवावेद, भोगटे, मोसम, इत्यादिका प्रशस्त रूखहरू थिए । जाईका झाङहरू पनि देखिन्थे । एउटा ओखरको हाँगाबाट डोरी झुण्ड्याइएको थियो । काम्रो भएको मोटो पीङ मच्चाउने काममा ठिटीहरू सोर्‍हश्राद्धमै दशैँको पूर्वस्मरण गरिरहेका थिए ।

एक ठिटी भन्न लागेकी थिई, "दशैँमा ता चम्पानानीको बिहा बाबै !"

आर्कीले उत्तर दिई, "अँ ? हो ! … दशैँमा बिहे गर्छ कोही ?"

तेस्रीले भनी, "त्यस्तो कुरा गरे हामी यहाँ खेल्दै नखेल्ने ! बुबालाई बिन्ति चढाएर पीङ काट्न नलाईकन, पख ! कच्चरीहरूहो !"

रामकान्तले पर्खालको प्वालबाट चियाएर हेरे । ती तेस्री केटी उनी- तरफ सामुमा फर्केकी थिइन् । तिनको नाम चम्पा रहेछ ।

रामकान्तले आँखाले परीक्षा गर्दै मनमनै भने– "चिनियाँ कदकी भन्न त अलि सुहाउँदैन, बा ! यिनी जरुर बढालु छन् । अग्ली गोरीमाको भेनेशियन सुन्दरी ! … यो ककेसियन टाइपकी । म चाहान्छु आफूजस्ती च्यान्टी । पहेँली यति छेपाराले चुसेजस्ती होइन । मसालाको बोटको जङ्घा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति टेडो रहेछ । नाक विलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्यदृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो तर मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्‍याङको उखान पर्‍यो भने । रत्यौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँ भने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा ! मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन् । मलको मूलाजस्तो के गर्नु ! … चीनीयाँचम्पा खिल्दो मुसमुसे अच्छा ! बेस रहिछन् तर विचारणीय ।"

यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाहरू (अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्मप्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामर्थ्यउपर ज्यादा जोड दिँदैनन् आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चश्मा, कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।

यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त, तर उनले चम्पालाई आफूयोग्य हुनुभन्दा कति मात्र तल-माथि परेकी होलिन् भनेर ग्राह्यताको समस्या हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।

सुवासिनी मान्छेका जोडजिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्कसुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहाबाजे रामकान्त पोशाक उतारेर भान्साघरतर्फ रवाना भएका थिए, दुलहीले आफ्नो दुलाहाको शारीरिक सौन्दर्यको भेद पत्ता लगाइन् । "छाती" उनले विचार गरिन्, "डमरुको छालाजस्तो सुक्या रहेछ । परेवा छाती रे त्यस्तो बाङ्गेकाे हाड उठेको… हाम्रो बुबाले भन्नुहुन्थ्यो । आँगभरि छिः के विधि डन्डीफोर होला… सब पाक्या छ, कस्तो फोहोरी मान्छे होला छिः……. गालामा के त्यति लामो खुकुरीले काट्या जस्तो अथवा भालुले चिथोर्‍या जस्तो !… च्यान्ट घोडा भनेर जस्तो गिज्याएको हो !… नामै च्यान्टी भइसक्यो आर्का ! कति सानो मान्छे होला ? चिमिरे ! भँगेराजस्तो… काखी गन्हाएर वाक्क आइरहेछ अझ ।" दुलहीले बान्ता गरेकी थिइन् त्यस बिहान । दुलहादुलहीलाई एकै ओछ्यानमा त्यस रात सुताइदिएका नन्द, आमाजूले । रातभरि दुलहीलाई निद्रा लागेन । शरीरको गन्ध कुनै मान्छेको, बाफै तातो नै कस्तो-कस्तो पेट उमठ्लाजस्तो… दुलहीलाई घनघोर घीन लाग्यो ।

जप, मन्त्र, पवित्र बन्धन, लगनगाँठो वैदिक भए पनि हृदय वैदिक हुनुपर्छ भन्ने ब्राह्माण, गुरुज्यू, पुरोहितको भूल थियो– सफेद भूल !

चम्पा चाहन्थिन् केही आर्कै पर्न गयो केही आर्कै । स्वीकारले कसैको व्यक्तित्व बन्दछ, कसैको बाँङ्गिन्छ । चम्पाको सपना चकनाचूर भयो । कहाँ सिनेमा स्टार हुने भावना, कहाँ यो भङेरेदेव ! बालकै भए पनि राम्रा मीठा सपना बराबर उनलाई आउँथे । उनले आफ्नो जेलजीवनको पहिलो अनुहार देखिन् । उनलाई घृणा लाग्यो पहिलो बार पाउको पानी पिउँदा, दोस्रोपालि बान्त भयो । तब दुलान फर्काउनु सोर्‍ह दिनको भेटघाट । सासू अहिलेसम्म बेसै थिइन् । भोलि-पर्सि ह्वाङ्ग्राङ्ग खाइदिने पो हो कि ।… जेठी ज्येठानी कत्री ढोइ ! के विघ्न धम्मरधुस… शुद्ध कँठेनी… कस्ती मापाकी । कस्ती वालँघी ए ! तर माहिली ज्येठानी कस्ती सुकुटी फेरि ! बिहा गरेको पन्ध्र दिन भा छैन माइतमा कुरा गरिसकेकी …… ए ! आँखा डेढो रहेछ रे आकाश-पाताल देउरानी रे … मासुमा नुन चर्को कलबिख रे …, ज्येठानीलाई तपाईं भनिन रे ! कस्तो ठाडो बोली रे … हजूर भन्न जान्या रहेनछ रे… घर त कुरौटे, विघ्न कुरौटे रहेछ बा… लोग्नेले पनि के नाउँ राख्या होला त्यस्तो कीचक रे ! कीचक ता कोही सुवासिनीको नाउँ नराखोस् ए दुनियाँमा ! म कीचकजस्ती छु त ?

चम्पाले पुरोहितबाजेसँग सोधिन् माइतमा "होइन पुरेतबाजे ! कीचक भन्या के हँ ?"

पुरीहितबाजेले सम्झाएका थिए कीचक भन्या एउटा भीमसेनले घन्ट्याएको कामी, एक हावामा आफैँ बज्ने बाँस, तर कीचक कति नराम्रो नाम । के नाम राख्यो होला । … म अग्ली छु भनेर बाँसजस्तो भन्या होला अब ।

"ज्यादा च्यान्टा घोडाजस्तो भए मन पर्दी हुँला !"

यसरी १२ बाट १२ वर्षमा प्रवेश गर्दी चम्पा दुलहीको हृदयमा त्यस व्यक्तित्वदेखि विरोधका लहरीहरू उछालिन लागे जुन व्यक्तित्वले उनको छनाइको क्षेत्रबाट बाहिर रहेर उनलाई गाँजेको थियो । अति चुरोट, तमाखु खानुपर्ने, जुँघाको कथा हाल्नुजस्तो … कति नराम्रो कैलो भुवा जुँघाको नाममा … असल-असल मगरका नास्ति जुँघा न दारी ।

अलि मगर छाँटको… थेप्चो नाक पनि … तलतिर फेरि पुट्ट पर्‍या … मेरो हातले नाप्यो भने पनि तीन हात पुग्दैनन् जरुर । ठाँट पार्नुपर्‍या के विघ्न नि ! लुगा छोडायो कि भँगेरा भुत्ल्याएजस्तो इत्यादि ।

माइतमा पछि बज्यै अलि चुकचुकाइन् । "चम्पू !" उनले गाला मुसारिन् ।

"अलिकति तिमी सुहाउँदो भएन हकि बा ! … अब तिम्रो भाग्य यस्तै रहेछ । धन, पैसा, इज्जत, मान, सन्तान हो भाग्य भनेको ।"

चम्पाको हृदयमा आफ्नो स्वामीतर्फको न्यूनताको भाव समर्थित भयो । उनलाई बराबर गाली गरेको, हियाएको वचनले रिस उठ्दथ्यो । तर उनको व्यक्तित्वमा यौनभावका चक्रहरू स्पष्टतासँग काम गर्न लागिसकेका थिएनन् ।

दुलहादुलहीलाई आमाबाबुले अलग राखे यस निमित्त कि रामकान्तको पढाइ बाँकी थियो तथा दुलहीको उमेर पुगेको थिएन । रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।

कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा-धूलोमा घुम्दै आए ।

बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित भयङ्कर धब्बाहरू … आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।"

रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि, हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ । शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !

उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । म बिग्रेँ । आयु चार महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढ्न र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।"

चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले साथीसँग छुट्टिने बेलामा रोएझैँ ।

प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ – त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा – कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।

रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्‍याए । अब उनको आत्मा ईश्वरचिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"

… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने 

बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।

उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।

चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"

त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् । उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथीसँगी भेट्टाइने, प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्रीकृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरिफेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्मस्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो– कमसेकम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वासन त मिल्दथ्यो । बैँसालु कल्पना बराबर उत्तेजना र पोषण पाउँथ्यो ।

यस्तै रीतसँग २-३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि घ्वाँक, गाला यामान, शरीरै डब्बल । तर रूप ता उही बँदेलको, गैँडाको जस्तो थियो । कुभिन्डो चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो– शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधित गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।

रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गन्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रूप उनका नजरले सिफारिश गरे । तर उनी त्यस बैँसको मोहनीदेखि त्रस्त भएर मनमन रोए ।