Jump to content

Sunko bihani/kitab charo

From Nepali Proofreaders
Revision as of 18:11, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Sunko_bihani.pdf" from=34 to=36 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
किताब-चरो

(१)
कति सुन्दर हेर किताब-चरो
दुइ पंख फिजाउँछ यो बिचरो ।
कति थोप्लिइ खोल्दछ झिल्मिल यो
म त मग्न बनीकन हेर्छु अहो ॥

(२)
कति छन् तह हेर भुवा यसमा
कति प्वाँख फिजाउँछ क्या रसमा ।
जति हेर्छु उडाउँछ दूर कता
म चढी यसमा छु सधैं विपता ॥

(३)
कहिले म त बादलका महल–
तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ–
हरूमा म विचार्दछु बात नयाँ ॥

(४)
कहिले परदेश पुगेर कता
तसबीर भईकन छक्क म ता ।
पटना र बनारस बंबईमा
म त डुल्दछु रंग भरी भुइँमा ॥

(५)
कहिले कति सागर पार पुगी
म त लन्डन डुल्दछु हेर ! सँगी ।
कति मोटर बस् कति ट्राम हुने
र हवाइ-जहाज उडीरहने ॥

(६)
म त गर्छु कुरा कतिसाथ कति
अघिका अघिका जति गर्छु उति ।
मुख मात्र रसाउँछ अमृतले
लिन छन्द मिठास खुशीसितले ॥

(७)
अघिका अघिका दरबारहरू
झलमल्ल खुली तरवारहरू ।
झललल्ल बनीकन देख्छु म ता
इतिहास भयो र कथा कविता ॥

(८)
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले सुखको दुखको दुनियाँ ।
अघिका जुगसाथ म गर्छु कुरा
कति मोज छ चढ्नु किताब-चरा ॥