Jump to content

Sunko bihani/paltan

From Nepali Proofreaders
Revision as of 18:10, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Sunko_bihani.pdf" from=22 to=27 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
पल्टन

ढरर ढम्म ढरर ढम्म
ढ्वाङ् ठोक सारा !
आज जानुपर्छ नानी
देशनिंति प्यारा !

लेऊ हात हात लाठी
लाम लाग सारा ।
मार्न जाऊ देश शत्रु
पोख्न रगत धारा ॥

पात पीं पीं लौ बजाऊ
छरन अबीर लावा ।
वान् टु वान टु कदम चाल
गर्न हिंड्न धावा ॥

आज जानुपर्छ हामी
देश-निंति सारा ।
ढरर ढम्म ढरर ढम्म
ढ्वाङ ठोक सारा ॥

तालिमी छ आजलाई
छन् लडाइँ हाम्रा ।
बन्नुपर्छ है सिपाही
हृदय स्थिर र चाम्रा ॥

मर्नुमै छ स्वर्ग हेर !
जिउनु कीर्ति खाली
झनन झन्न झनन झन्न
बाज काँस थाली ॥

मुटु र ज्यान आज हाली
हुकुम एक पाली ।
ढरर ढम्म ढरर ढम्म
हिंड्न कदम चाली ॥

छोड्नुपर्छ घर र बार
देश-निंति सारा ।
यो हुरी पछाडि हामी
बन्नुपर्छ तारा ॥

प्रभु छ माथि हृदय साथी
मर्छ को र प्यारा !
देश-निंति मर्नु जिउनु
गुम्नु मेट्नु प्यारा ।

पीठ नदिनू बढ्नू बढ्नू
चढ्नू कठिन किल्ला ।
यो धूवाँ र आँधिपछि
कीर्ति मधुर खुल्ला ॥

मान्यलाई मान कीर्ति
हेर अबीर लावा ।
जो डराई बन्छ श्याल
काँप्छ खाइ हावा ॥

छोड्नुपर्छ घर र बार
बिर्स सकल प्यारा ।
कस र छाती ताँति ताँति
हाँसी चलन सारा ॥

मट्टीको छ यो शरीर
उड्छ बन्छ हावा ।
देश-निंति चंकिनेछ
गर्छ जो त धावा ॥

वीरजाति ताँति ताँति
भाँति भाँति लाम ।
लड्न चाल कदम कदम
लाम यो नथाम ॥

नजर अघि छ आज हेर
वीर हृदय तारा ।
ढरर ढम्म छनन छम्म
बढन आज प्यारा ॥

आज तिर्न ऋण र गाँस्न
वीर हृदय माला ।
शस्त्र हात सफल जात
जल्नुपर्छ ज्वाला ॥

जाग काली  ! जाग जाग
झलल झलल पारी ।
देश-निंति शस्त्र अस्त्र
छौ न शत्रु मारी ॥

पीं पीं पीं पीं पात पात
लाम चाल चाल ।
कालसरि आउनेछ
शत्रु पंक्ति छाल ॥

जिन्दगी छ यो लडाइँ
नेत्र झल्ल बल्ला ।
जीउ धुलो भएर जान्छ
खालि आत्मा फुल्ला ॥

आज हेर सब नेपाली
आगो लौ निकाल ।
मार शत्रु पार ध्वंस
चुली चढ्न थाल ॥

होश राख कदम कदम
नाम यो नफाल ।
वीर वीर धीर धीर
बनन सकल तारा ॥

आज देश-निंति जानु–
पर्छ दूर प्यारा ।
ढरर ढम्म ढरर ढम्म
ढ्वाङ् ठोक सारा !