Jump to content

Laxmi nibandhasangraha/pandit lekhnath paudyalko bisayama

From Nepali Proofreaders
Revision as of 17:22, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Laxmi_nibandhasangraha.pdf" from=160 to=166 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

पण्डित लेखनाथ पौड्यालको विषयमा

प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम प्रतिभाको वासस्थान ! केही ऊँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू त्यहाँनेर चिरीबिरी गर्न आउँछन्‌ । मैले यसो यताउति हेरेँ त्यहाँ अरू विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा थिएनन्‌, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म भित्र पसें ।

दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो नेपाली ढङ्गको कोठीबाट स्वागत गर्यो। उनको गालामा एउटा कोठीप्रधान चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा सजीव विस्तार !

त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो । त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो ।

अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें । हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरु दिव्य सन्देश लिएर आएका थिए, तिनीहरुलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरुको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई सधैं पूर्णिमा जस्तै छन् । हामी उन्नतिशीललाई पनि बुझ्दैनौं, उन्नतिलाई पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं । साहित्य र कविता हामीलाई कथेको कथनी–पथनीभन्दा केही ज्यादा मोल राख्ने चिजजस्तो लाग्दैन । हामीहरुमा भावुक प्रशंसाको मात्रा नै छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाशून्य छन् । हामीहरु औत्सविक कविताहरुमा रुचि देखाउँछौ र पैसा तिर्न पनि खोज्दछौं, मिथ्या पोषणमै हामीहरु दगुर्दछौं । तर सत्यका अनुहार हामीहरुलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य छुट्याउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ याद हुँदैन ।

चिन्नेलाई आँखा भनिन्छ, बुझ्नेलाई मगज, सुन्नेलाई कान र भावना गर्न सक्नेलाई हृदय । यी चार चिजबाट वञ्चित हुनु पशुको लक्षण हो । हीराहरु बाँदरले फ्याँक्छन् किनकि उनलाई मोल थाहा छैन । सुन्दर रचनाहरु बुझ्नु र नबुझ्नु अन्धताभन्दा पनि खराब पशुता हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरु हामी दुर्दुर् गरेर फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हुँदैन, यो साधारणको दैनिक लक्षण हो ।

कति कमलाई याद छ हाम्रो साहित्य–क्षेत्रमा के युग छ र त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, श्रृङ्गार दिने पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला दानाहरु मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको थियो ? जब नेपालीको नाम राख्नु मुस्किल थियो, कसको आत्माले आबरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन बेला पण्डितजीहरु भाषाको नाममा नफरत राख्तथे त्यस बेला कसले अकेला बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्यो ? के बनाउने उसको इरादा थियो ? जब संसारमा खालि ठण्डा पानी थियो ।

हामी त्यस व्यक्तिका कठिनाइहरु बुझ्न सक्तैनौं । अँधेरीमा उज्याला आत्माहरु काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण हो । त्यहाँ केही थिएन । अब कल्पना र मातृभाषाको श्रद्धाले कति गरेछ त ? रोकावटहरुले, कठिनाइहरुले के गर्न सके ? त्यस सपनालाई– जो उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन दिइएको थियो र सौन्दर्यको घडा बन्यो । ऊ सुन्दरको खोजमा थियो, मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाड्यो । सुन्ने देख्ने कोही कहाँबाट त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वान्हरु पनि आश्चर्य मान्दथे, केही उसलाई दिइएको थियो, जो अरुको भागमा थिएन । यो के थियो ? हामीहरु विश्लेषण गर्न चाहन्छौं तर राम्ररी सक्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरुले तर्साए पनि जित्दै गयो, उचालिंदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी मोहनी छ । ऊ भात माग्दा लात पाउँदा भन्ने कुरा जान्दछ । सत्यको बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ भन्ने उसलाई याद थियो । तर ऊ डगेन । काँपे पनि जित्यो र उत्तम क्षणहरुमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरुहरुले पनि सो कोशिश गरे, तर त्यतिको टुना राख्न सकेनन् ।

उनी बुद्धिमान् थिए, चतुर थिए, जो परिस्थिति बुझेर त्यसबाट माधुर्यका क्षणहरु निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै अनुकरण गर्न व्यर्थ कोसिस गर्दछन् ।

मलाई पहिलो चरा मिठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ । नेतालाई मेरो आत्मा सधैं नमस्कार गर्छ । हामी बुझ्दैनथ्यौं, त्यति माथि पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिलो ज्योति बाल्दथे । नवीन नेपालको संघार सुनौला भएर आयो । तर धेरैजसो मान्छेहरु दिनलाई दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरुले सन्देश पाएनन् । हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट, मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो ।

आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो 'नेपाली' नामको भाषामा मुर्तिमान मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् । उनमा प्राकृत रेखा सुन्दरले कुदेझैं रहन्छ । अरु संस्कृतको विरोध गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न जान्दछन्, अरुहरु कोशिश गर्दछन् । उनी नेपालीको हृदयनजीकै आउँछन्, अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता, चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं ।

उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् । सचेतता–अलङ्कारी, आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना हो भने हामी तारीफ गर्छौ, किनकि उनी आधुनिक लेखकहरु झैं पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ । कविता बोलचालको भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फैसला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिदै निक्लनुमा उस्तो दोष देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको रोकावट हामी त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शब्दलालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले शायद भावकै दोष हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका रुपमा देख्तछौं ।

राय विभिन्न हुन सक्छ । युगहरु बेग्लै फैसला गर्न सक्तछन् । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरु स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरु धेरै ठाउँमा निस्कन्छन् र हरेक युगमा ।

कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक छन्दमा छामछाम–छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई कविताका सजीव मूर्ति र आर्दश सम्झन्छन्, उनको शैली नक्कल गर्दछन् र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै हाम्रा प्रथम कविजीमा अवगुणहरु छन् तर उनी हाम्रो लागि महान् छन् । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन् र प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन् । ध्येय उनीहरुको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न खोज्दछन्, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं जो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरुमा प्राकृत भएर निस्कन्छन् ।

गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठित तुल्याउनु कला सम्झिन्न; नबुझिनुमा महत्व छैन । पछि बुझ्लान्, कदर गर्लान् कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरुरत छैन । उनी सजिलैसँग हृदयतिर झल्किहाल्छन् । उनी संस्कृताढ्य भईकन ज्यादा सरल छन्, त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौं ।