Jump to content

Laxmi nibandhasangraha/bairagya

From Nepali Proofreaders
Revision as of 17:22, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Laxmi_nibandhasangraha.pdf" from=147 to=151 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

वैराग्य

म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि वैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार सपना हो र यसमा सार छैन भन्ने कविता पनि लेख्तथें । आभ्यन्तरिक चैतन्यबाट उठेको वैराग्य मात्र सच्चा स्वरूप धारण गर्दछ र विषयसम्बन्धी दुःखका अनुभवद्वारा भित्रतिर उठेको संसारी निस्सारताको चैतन्य मात्र वैराग्यको आत्मा बन्दछ । खालि पढेर गुनेर मात्र विरक्ति लिनेले अरूहरूको अनुभव-प्रतिबिम्बद्वारा झल्किएका भावहरूलाई रुचाएर संसारको निस्सारताको काल्पनिक अनुभव पाउँदछन्‌ र आफूलाई बुद्धिमान्‌ ठान्दछन्‌ । तर तिनीहरू कच्चा र प्रलोभनशील हुन्छन्‌ । सच्चा वैरागी भनेको त्यो हो जसले जीवनका अनुभवहरूमा अनित्यको परिवर्तनशीलता हुने संयोग, वियोगहरूको तिक्तता अनुभव गर्ने सहृदयता राखेर नित्यको इशारा पाउँदछ र त्यसको पछि दृढतया लाग्दछ– त्यस्तो तीव्र चैतन्यले, जसलाई फेरि विषयको टुनाले बहकाउन सक्तैन ।

शुकजीलाई बाल्यावस्थादेखि नै वैराग्य उत्पन्न भएको थियो । हामी देख्छौं कोही-कोही महापुरुष या साधुहरू पूर्वजन्मका संस्कारद्वारा विषयउपर घृणा र पारमार्थिक सारउपर श्रद्धा उत्पन्न भएर सानै उमेरमा संसार त्याग गर्दारहेछन्‌ । तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले वैराग्य उत्पन्न हुन सक्तो रहेनछ । रोगीहरूको दर्शनमा मिथ्याको स्वरूप झल्किन्छ र हामीहरू असत्यको अत्याचारबाट अमलेख बन्न खोज्दछौं, तर पूर्वजन्महरूका अनुभवद्वारा पनि कोही-कोहीमा सच्चा वैराग्य उठ्न संभव रहेछ ।

जबसम्म हामी संसारमा ठूला हुन चाहन्छौं या यति-उति गरौंला र आफ्नो गौरव देखाऔंला भन्ने भाव राख्तछौं, त्यस वेलासम्म हामीलाई वैराग्य भन्ने चीज असम्भव छ । आसक्तिहरू जति बढ्दै गए उति हामीहरू संसारमा महमा टाँसिएका माखाहरू जस्ता बनेर तिनका स्वरूपतिर नजर लगाउन सक्तैनौं । हामीहरू व्यर्थका पुजारी छौं, मिथ्याका अन्धभक्त छौं, बोक्राका अनुचर छौं, अन्धा छौं । हामीहरूलाई झिलिमिलीले अत्याचार गर्दछन्‌ र 'के के न गरुँला खाउँला'-मा हाम्रो अधिकांश जीवन आशाउपर आशा थप्तै चलिरहेको हुन्छ । क्षणिक विषयले हामीलाई त्यसै दौडाउँछ र अनन्तताले हामीलाई त्यसै तर्साउँछ । हामी जीवनलाई माटोमा मिलाउने काम गरिरहेछौं । हामीलाई सानातिना मोलतोल र नजीकका टुना मात्र छन्‌ । जति आँखा साङ्ग्रा भए, उति मानिसलाई झन्‌-झन्‌ ठूलो भएजस्तो लाग्दछ, जति गिर्यो उति म उचालिएँ भन्ने सम्झिन्छ । जति रित्तो भयो उति ठूलो आवाज मात्र निकाल्दछ । संकुचित हृदयमा घमण्ड ज्यादा रहन्छ ।

“अब यति गरुँला भन्दै राग लिएर अपार !
हाय । हरे ! शिव ! घुम्दछ दुनियाँ धन्य हरे संसार ।'

भनेर भर्तृहरि गाउँदछन्‌, किनकि उनलाई विषयमा आसक्ति बढाएर अझ अरू उन्नत हुँदै रहुँला या नवीन प्राप्तिहरू हासिल गरुँला भन्ने भावहरू चक्करमा मात्र घुमिरहेका जस्ता थाहा हुन्छन्‌ । एक मिथ्यासँग संयोग राख्यो र त्यसबाट क्षणिक सुख अनुभव गर्यो, अनि मिथ्याको स्वभावैद्वारा वियोग उत्पन्न हुँदा त्यस सुखबाट वञ्चित हुन गएर हामी दुःखको अनुभव गर्दछौं । तर त्यसको दुःखले पनि वैराग्य पुर्याउन नसकेर फेरि नव-नव संयोगहरू बनाएर हामी आफूलाई हरहमेशा क्षणिकको प्रलोभनमा राख्तछौं । यस्तै गर्दा-गर्दै अनेक चक्करहरू पर्दै जान्छन्‌ र जन्म-जन्मान्तरसम्म हामी मृगतृष्णाका पछि लागिरहेका हुन्छौं । हामीलाई खालि एउटा विशाल भूलभुलैयामा चक्कर मार्नु छ । एक मिथ्याले अर्को मिथ्या उत्पन्न गराउँछ; हामी शून्यमा अलमलिन्छौं र अँधेरीमा चक्कर खान्छौं । हाम्रा मानसिक क्रियाहरूले मिथ्याको आभासमा वक्ररेखा लिएर मनको विशाल स्थितिलाई खालि सत्यको प्राकृतिक शान्तिबाट गडबडाउँछन्‌ र हामी आफ्नै क्रियाका असत्य मायाजालमा लर्बराउँदै धर्मराउँदै रहेका हुन्छौं । यहीं भित्री नरक छ, स्वर्ग पनि, काना गल्लीहरू पनि, बाङ्गाटिङ्गा विषालु बाटाहरू सर्प झैं गुँडल्किएका, यहीं च्याठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा बस्तछन्‌ र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाट्यको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैंले आफ्ना निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य वेदना बढाउंदै आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा आँसु टलपलाएर आउँछन्‌ । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो, 'स्वर्ग जान आ' भने मन्टो बटार्छ; नरकमा अमृत देख्तछ, देवतालाई राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसँग मितेरी लाउँछ र मपाईको घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्तैन । ऊ च्याँठ्ठिन्छ, छटपटिन्छ, रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई 'यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उठ्छ । खेलौनाहरू खेल्नु नै जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर लडाइ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्‌, न पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति र ऊति'-मै चलिरहेको छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड बनाएर हामीहरू झगडा नै पोस्तछौं । विश्वको गोला झैं बाटुला सत्यमा विरोधहरू साम्यमा आएका हुन्छन्‌; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमै रहन चाहन्छौं, अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो र त्यसका निमित्त एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौं जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानव-आत्मा झल्याँस्स भएर मोलतोल फेर्दछ । जुन दिन थियो, ऊ निशा भयो, जसलाई मूल्यवान्‌ सम्झिन्थ्यो उसमा नैराश्य मिल्यो, संसार खालि एउटा अँध्यारो कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न, केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहाँ म तारा झलमल नचाएर शासन गर्दथें । मेरो साथ जाने खालि आसक्तिहरूको फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद छ । तैपनि हात पसार्छु, रुन्छु, ले भन्छु, नपाए च्याँठ्ठिन्छु; तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित गर्दछन्‌ । छिः जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा गर्देछु । छिः विषयलम्पटता ! छिः त्यो मह, जहाँ पखेटा टाँसिन्छन्‌ र जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति गरुँलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न च्याँठ्ठिन्नँ । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुझ्न सक्तछौं ? जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्‌, जहाँ यसले आफ्नो ज्योति परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, यही मानवविद्या; नासमझको ठेला, 'प'को राज्य सधैं अँध्यारोमा छ । म छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुठी फुकाएर चल्दछु बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो बोकेर हिंड्न चाहन्छ । के बोकिस्‌ काना ! आखिर संसार त ज्यौंका त्यौं रहेकै छ, न रायो बनाइस्‌, न रूख, न तैंले एउटा तारा थपिस्‌ ! तर यी सबको गह्रौं भारी बोकिस्‌ । बेकार रुन्छस्‌ । आँसुको काम छैन, त्यहाँसम्म हृदय पग्लिंदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ आगोलाई शीतल भन्थिस्‌, अमृतलाई विष । तँलाई अन्नले खायो तैंले अन्न खाइनस्‌, तँलाई लुगाले लगायो, तैंले लाइनस्‌, बेकारमा आफू खेलौना बन्छस्‌ । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन्‌ । त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर मनका लड्‌डू बनाउन उर्लिरहेछन्‌ । ठूलो सानो हो, सानो ठूलो । बेताल हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस्‌ । ए, आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! छोडिदे आशा । त्यो आशा जो संसारिक शृङ्गारहरू पहिरेर तँलाई भुलाउन आउँछे । बाँकी राख्‌ केही, जो अर्पण हुन सकोस्‌ । 'मलाई भयो, पुग्यो ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो। रङहरू बोक्सीका छलहरू हुन्‌ । भो वाक्क छु म चाहन्नँ कीर्ति, म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्‌, मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे । मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन्‌ । मैले एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्‌–आफ्नो महत्त्वाकांक्षाका निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो रहेर चलिरहेको देख्नको सौखमा ।

छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन्‌ । अरूले त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस्‌ त ग्वाङ्ग्रा ? यहाँ केही छैन ।