Jump to content

Laxmi nibandhasangraha/kala ra jivan

From Nepali Proofreaders
Revision as of 17:22, 19 April 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Laxmi_nibandhasangraha.pdf" from=84 to=95 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

कला र जीवन

कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छ र निराकारबाट आकारमा नआउञ्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एकोऽहं बहु:स्याम'को स्फुरणमा विश्वकला त्यो प्रेमको आधारमा जन्मिई जो ब्रह्माभासमा झलमलाउँदै उठेका अनेक जीवात्मालाई अनन्त मायाश्रयले विस्तारमा विलास दिन चाहन्थ्यो । निराकारमा स्फुरण छ, तर साकारमा कला छ । सिर्जनाको मूल तत्त्व प्रेम हो र प्रेमको मूल क्रिया आनन्द दिनु हो । स्रष्टाको दिव्य प्रतिभामा विश्व जन्मियो र हामी यस रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सत्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानका स्पष्ट संकेतहरू पाउँछौं । परमेश्वरको सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र ईश्वरीय सत्यलाई सुन्दर रेखा रंगरूपमा प्रकाशन गर्दछ । हामी 'सुन्दर' भन्ने चेत पाउँछौं सत्यको आभासद्वारा र जहाँ सत्य छैन, त्यहाँ सौन्दर्य पनि छैन । कीट्स्‌ले भनेका छन्‌ कि 'सत्य नै सौन्दर्य हो र सौन्दर्य नै सत्य हो ।' यो ईश्वरको आत्मप्रकाशनरूप कलात्मक सिर्जनामा यस्तो विदित हुन्छ कि सत्य सुन्दर हुँदै इन्द्रियग्राह्य रूपहरूमा ओर्लिरहेछ ।

सत्य पनि धेरै किसिमको हुन्छ, जस्तो– काल्पनिक सत्य, व्यावहारिक सत्य र दार्शनिक सत्य । जुन चीज त्रिकालबाध्य छ, त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन्‌ । तर व्यवहार- जीवनमा सत्यले धेरै स्वरूप लिन्छ र इन्द्रियगोचर दुनियाँको कडा ग्राह्य सत्यलाई म व्यावहारिक सत्य सम्झन्छु । विवेकको अन्वेषणद्वारा प्राप्त हुने चाहिंलाई दार्शनिक सत्य भन्दछु र मनका सूक्ष्म चित्रणहरूद्वारा झल्किनेलाई काल्पनिक । ढुङ्गा कडा हुन्छन्‌ भन्नु व्यावहारिक सत्य हो, एक-एक जोडे दुई हुन्छ भन्ने र सृष्टिका अस्तित्वद्वारा सष्टाको अस्तित्व छ भन्ने कुरालाई म दार्शनिक सत्य भन्दछु; र सरस्वतीलाई देखेर उहाँसँग कुरा गरें भन्ने किसिमको चीजलाई म काल्पनिक सत्य सम्झन्छु ! मेरा निमित्त व्यवहार सीमित छ; दर्शन, विवेक अन्धो छ; म काल्पनिक सत्यलाई नै सबभन्दा ज्यादा रुचाउँछु र त्यसैद्वारा ईश्वरको झल्काझिल्की पाउँछु ।

मेरो विचारमा मानवकलाहरू काल्पनिक सत्यमा निर्भर रहन्छन्‌ । खालि व्यवहारको सोझो चित्रण कलाको रूप लिन सक्तैन, न त मेरो रायमा फोटोग्राफी कुनै कला हो, यद्यपि धेरै जना मोटामोटी चीजलाई कलाका नाम चौडा अर्थले दिने गर्दछन्‌, ती चीजहरू कला नै होइनन्‌ जहाँ यन्त्रहरू मात्र सफल हुन सक्दछन्‌; जहाँ विवेक मात्र काम गर्दछ; र जहाँ कल्पनाको कारीगरी र सीपको जरूरतै छैन । मानव-रचनाहरू कलानजीक त्यति मात्रामा आउँछन्‌, जति मात्रामा तिनउपर सिर्जनात्मक कल्पनाको रंगरेखा देखिन्छ र जति मात्रामा हिसाब र विवेकनजीक पुग्दछन्‌ उति यान्त्रिक रचनाहरू बन्दछन्‌ । गणितका सूत्रले हुने कामहरू मगजका काम भए पनि कला भन्न सुहाउँदैनन्‌ । चित्रकारी कला हो, फोटोग्राफी होइन । साधारण टेबिलमा सिकर्मीको काम हुन्छ, कला हुँदैन; तर यदि कुनै सिकर्मीले टेबिललाई एउटा सौन्दर्यको सपना जस्तो पारेर बनायो भने त्यहाँ कलाको प्रादुर्भाव हुन्छ । न त नक्कल गर्नु कला हो, यद्यपि कालिदासको अनुकरण नै होस्‌ ! 'अलङ्कार चन्द्रोदय'को नियममुताबिक बनाइएका कविता यान्त्रिक श्लोक हुन्‌, तर ती न कला हुन्‌, न कविता । जब सिर्जनात्मक कल्पना नक्कल गर्नु उतार्नुबाट उपर उठेर आफ्नो नवीन सपना देख्दछे र आफ्नै शैलीले आफ्नो छिना चलाउँछे, त्यहाँ कला निस्कन्छ । न त खालि मौलिकता नै कला हो, यदि काल्पनिक सत्यको सुन्दर क्रिया त्यसमा छैन भने ! सत्य र सुन्दरको सीमाभित्रका रचनाहरूलाई हामी कला भन्दछौं, यदि तिनीहरूमा जीवनको हृदयलाई प्राकृतिक प्रभाव छ भने । न त खालि सपना मात्रै कला हो; किनकि प्रकाशनको क्षेत्रमा नआई सपनाले कलाको रूप धारण गर्दैन ।

कलाको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुन्छ । पशुको कला हुँदैन, न त जडका ! तर आध्यात्मिक प्रकृतिले सम्पन्न भएको विश्वकलाकारका मिहीन सूचनाहरू सम्झन र थाहा पाउन सक्ने मनुष्यलाई अलिकति दिव्य कारीगरीको अनुकरण गर्ने शक्ति दिइएको छ । कला उत्पादन गर्ने शक्ति खालि वस्तुको बोक्रो दर्शनबाट आउँदैन; न खालि विवेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्गति र चैतन्य भएको दुनियाँमा ऊ दर्शनले चित्त बुझाउन सक्तैन । आफ्नो मन र बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र मानिस भावुक र काल्पनिक जगत्‌का जादूगरीहरूद्वारा यो विज्ञानपरका झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानव-आत्मालाई सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि सूक्ष्म सत्यहरू काम गर्दछन्‌ । ऊ नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सूक्ष्म क्रिया अध्ययन गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्‌-प्रदर्शनहरूमा पनि तिनै उपकारको मूल तत्त्वको आभास र सूक्ष्म संकेतहरू छाम्न पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र ऊ आफ्नो अनन्तको चेत झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा दिन्छन्‌ र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो अनुभव हुँदो हो । ऊ सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ; दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । ऊ रूपलाई ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, ऊ उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको आगो चोर्न चाहन्छ ।

मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य र गूढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌ तर कति थोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको रहस्योद्घाटक सूक्ष्मभाव पाइरहेछन्‌ । ती मिर्मिरे भावनाहरूको सत्य जो प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्‌, जो पन्तजीको 'छाया' नामक जादू जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान्‌ तर टुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति आकाश देखिरहेछन्‌ तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जो हेर्नेले हेर्दै हेरेन, सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर जुगानजुगदेखि स्वाद लिंदै आएका छन्‌, तर 'रोस्कपिग' नामक ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी टुना कसैले त्यसमा देखेनन्‌ । चीजहरू बाहिरी रोगन र झलमलावटले राम्रा हुँदैनन्‌, जस्तो हनुमान्‌ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त 'राम' कहीं पनि पाइनँ !' त्यस्तै कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली देख्तछौं र हीराहरू झैं मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा कम हुन्छन्‌ । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्‌, तर कल्पनाशील व्यक्ति बालुवाको दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र संसार बुझ्नुपरे मकै उम्रिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा बहुत थोरै कुरा रामरी चिनेका छौं र एउटा कमिला पढ्नुमा तीन सय वर्षको शेभियन्‌ जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन्‌ ! दीर्घ जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल । आवरण छ हामीमाथि धूवाँको ढकनी । आँखा पखाल्नुपर्छ, कान माझ्नु र हृदयलाई किचिएको बालक झैं घुरानबाट निकाल्नुपर्छ ।

यस विषयमा हामी भन्न सक्तछौं कि दुई किसिमका क्रियाहरू साथसाथ चलिरहेका हुन्छन्‌, जसको सम्बन्धलाई 'मौन सहानुभूति' भन्ने वर्डस्‌वर्थले 'लुसी' कवितामा नाम दिन्छन्‌ । संसार बोल्दैन भन्ने बहिरा हुन्‌, र पहाडहरू र रूखहरू र ताराहरूमा जीव छैन भन्ने मुर्दा हुन्‌ । सच्चा दार्शनिक भन्दछ, ढुङ्गामा पनि त्यही सच्चिदानन्द चैतन्य रहेकै छ, तर जीवनको कक्षामन्तिर, जसले आकाश बोलेको सुनेकै छैन, बादल भएको वेलामा मात्र होइन, सूनसानमा पनि त्यसले हाम्रो हृदय डस्न कलम नै नउठाऔस्‌ । तब यी दुई किसिमका क्रियामध्ये एक चीजहरू बोल्नु झल्कनु र आफ्नो हृदय खोलेर देखाउने क्रिया हो, अर्को मानवहृदयले र कत्पनाले तिनीहरूमा आफ्ना अन्तस्करणसम्बन्धी रङ्ग र रोगन हालिदिनु हो, जसका प्रभावमा तिनीहरू घनिष्ठता लिएर व्यक्तिगत जीवनलाई सन्देश दिन्छन्‌ ! प्रभाले चिरपरिचितसँग नव परिचयको आनन्द लिन्छ र यो नवीन पहिचानमा चीजहरू चीज लिएर भेट गर्न आउँछन्‌ ! कविको हृदयअगाडि ढुङ्गा बोल्दछ र पातमा जिभ्रा हुन्छन्‌ ! साधारणमा कल्पनाको मिहीन सूत भएको जादू-जालीले नौलोपन डाल्दछ र सच्चा क्षणमा कलम चरो भएर गीत गाउँदछ । आमाको फोटो शैशवको ढुकढुकाउँदो संसार बन्दछ, र दर्शनढुङ्गा फूल झैं फुलेर ओठ हाल्दछ, मानौ बोल्नाको प्रयासमा । सरस्वतीसँग त्यस वेला बोल्दछु, जब मलाई उनी सजीव सत्य बन्दछिन्‌, म्लेच्छ कल्पना भनेको त्यही हो, जो हाम्रा देवदेवताहरूसँग न सहवास पाउँछ, न संभाषण ! पशुपतिको ढोका सधैं म्लेच्छउपर बन्दै छ र सोमनाथलाई फोरेर महम्मद गजनीले केही दौलत पाएनन्‌ । हावामा र जलमा ईश्वर नबोल्नु पाश्चात्य सभ्यताको असर हो र हामी बहसभन्दा तीव्र निश्चयसँग भन्दछौं कि इङ्गलिस्तानका कला र साहित्य भारतभन्दा त्यति मात्रामा तल छन्‌, जति मात्रामा अंग्रेजहरू सूर्यमा ईश्वर देख्तैनन्‌ र पहाडमा देवता ! अरू जति खालि ईश्वर छ भन्ने अस्पष्ट चैतन्यमा अविदितको होश दिव्य वाणी र धर्मपुस्तक मात्र हुन्‌ । तर म हिन्दू हुनाले छायासँग कुरा गर्छु, मलाई दृश्यजगत्‌ भित्रको प्रकाशन मात्र हो र सब खँदिला वस्तु तरल पदार्थ हुन्‌ । देवताहरूले वास गरिएको त्यो भरिलो जगत्‌मा हामी वास गर्दछौं जो भारतका सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा अन्धो छैन, न चीजहरू मूक छन्‌ ।

'माकुराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ कविजीले 'कोइली' को 'कुहू-कुहू'मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी आनन्द निकाले ! फूलदान फुट्नु मामुली कुरा हो तर बालकृ्‌ष्णशमशेरको आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट वर्ड्स्‌वर्थ भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान हुने थियो । तर तीन सय अप्सरालाई रङ्गीन पोशाक लगाएर बचाए पनि कानो मामालाई न एक सूझ न बूझ मिल्दछ; प्रतिभाको चमत्कार यही छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू नौला र झन्‌ सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन्‌ मीठोसँग बोल्दछ, चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन्‌ र गायकको कानेखुसी अरूको भन्दा मीठो हुन्छ । मोहनी, माधुर्य र प्रकाश ! त्यहाँ छ सब कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही झल्काइदिन्छ, खँदिलो नभएको कुरा छमाइदिन्छ; ढुङ्गा सपना बनाइदिन्छ र हावाको सन्देश सुनाइदिन्छ ।

म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो, उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्‌, र म खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु विदितको परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु । तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ मोहनी पनि देख्ता आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ आएर अनौठा तवरसँग जुट्तछन्‌ । किनकि कलाले अनन्तलाई छन्छ र रेखागणितको विवेकविरुद्ध उच्चतर गणित भन्दछ, अनन्तमा समरेखाहरू भेट गर्दछन्‌ । मगन्ता भनेको बोक्रेपनसँगको सम्बन्धमा हृदयको दूरता जनाउने अतिरेखित शब्द हो । तर यहाँ जीवनको मुटुनेर पुर्याउनु भगुवाको सच्चा अवस्था हुन्छ । यसकारण कला र जीवनको सम्बन्ध छैन भन्नेसँग मेरो वैमनस्य रहन्छ तर म मान्दिनँ कि कला भनेको जीवनको निर्देशन हो, जस्तो कोही कलाकट्टरपन्थीहरू भन्न चाहन्छन; न त म भन्दछु कला जीवनबाट बिलकुल अलग हुन्छ ।

सत्यता, सौन्दर्य, सिर्जना, हृदयस्पर्शिता र सूचनात्मकता यी कलाका मुख्य गुणहरू हुन्‌ । हामीले भनिसक्यौं कि कला कल्पनाको सत्यमा निर्भर रहन्छ, व्यावहारिक या दार्शनिक सत्यसँग यसको अहार्य सम्बन्ध रहेको हँदैन । सत्यता सत्य गुणको नाम हो, जो यथार्थबाट अलि पर गए पनि काल्पनिक क्रियाहरूको सच्चाइ राखेर भित्री सम्बन्धहरूमा सत्यको झल्का खोज्दछ । सौन्दर्य निस्कन्छ सत्यको तीव्र चैतन्यबाट, मानौं सत्य जीवनमा तरलिदै सजीव रूपरेखामा ओर्लिरहेछ । सौन्दर्य रहन्छ अंगसंगति, लयदार मिलाप, झल्कादार दर्शन र सूक्ष्म सम्बन्धहरूको मिहीन होशमा, यो त्यो आत्मकर्षक गुणको नाम हो, जसले सत्यतरफ मानवचेतनालाई बलैसँग पक्रेर लैजान्छ । सिर्जना त्यस मौलिक गुणलाई भनिन्छ जसमा नव-नव रूपहरूको उत्पादन र आभास पाइन्छ र अनाविष्कृतको खोजी र पत्ता लगाइएको आस्वादन मिल्दछ । हृदयस्पर्शिता स्पष्टै छ, आनन्ददायित्वको गुण हो जो केन्द्रमा प्रभाव गर्दछ । 'सूचनात्मकता' म त्यसलाई भन्दछु जसले थोरैमा सानो संसार झल्काइदिन्छ र लबजलाई साधारण अर्थबाट उचालेर सम्बन्धात्मक जादू भर्दछ, कल्पना र स्मृतिबाट तत्सम्बन्धी विषयहरूको झङ्कार निकाल्दछ । यी पाँच गुणविना कुनै चीजलाई कलात्मक सिर्जना भन्न सकिंदैन र जहाँ यी सबै ठीक तबरसँग देखिन्छन्‌, त्यस रचनालाई अत्युत्तम ठहर्याउनुपर्दछ । हामी जान्दछौं कि सुन्दर-असुन्दरका बीचमा स्वर्ग र नरकका बीचमा हुने सबै कुरा छन्‌ र संसारमा दुई चीजको विरोध हरहमेशा जीवनलाई अकमक्क पार्दै यसका समस्याहरू बनाइरहेछ । यी दुईको भेद जान्नु ज्ञानको टुङ्गो हो र हामी हरहमेशा त्यो भेद बुझ्ने अवस्थामा हुँदैनौं । कोही-कोही क्षण (जब दिव्य अवभास र अनुग्रह पाइन्छ) हामीहरू नबुझिने कुरासँग कुरा गर्दछौं, र सत्य कहाँ-कहाँबाट ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो मुटुको केन्द्रको अनुभव थियो । अनि पछिल्लो गुणको बारेमा जीवनका अनुभवहरू सहानुभौतिक थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता र विभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र ऊ लबज र रेखाको मुटु छामी टुक्राटुक्राले आकाश थर्काइदिन्छ ।

जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सूक्ष्म चेत जो मिहीन सम्बन्धहरूको भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको अक्सर चातुरी देखिंदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । जीवनमा झल्काझिल्की मिल्दछन्‌–टाढाको क्षणका अन्तरमा । तर कला हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आऊन्‌ ।

'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिंड्छ; जादूसँग खेल्दछ, नवीनतासँग मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैं मस्त छ । ऊ आफ्नो जगत्‌ आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहर्यावट, सिर्जनाको धीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहर्यावट देखाउनु या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिंदैन । तर कलाको देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव- नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म मनको गुलाफ जस्तो लेख्दछु तब कलात्मक सौन्दर्य निस्कन्छ तर जब जीवनको गुलाफ जस्तो लेख्दछु तब म तल्लो कक्षामा ओर्लन्छु, इत्यादि ।' उनीहरू नीति र कलाको सम्बन्धविच्छेद गराउन चाहन्छन्‌ र चाणक्यनीतिलाई सब कविता मान्दैनन्‌, न त पोपलाई महाकवि ! औपदेशिकता र कलाको आह्वानमा उनीहरू आकाश र जमीनको अन्तर देख्दछन्‌ र भन्दछन्‌ कि कला पवित्र निक्खरा सौन्दर्यात्मक चेतको सन्तोष र आनन्दका निमित्त हो तर चालचलनको काइदाउपर समालोचना छाँट्नु कलाको कर्तव्यको बेबूझ हो । उनीहरू कलामा उच्चतर जीवन पाइन्छ भन्छन्‌, पार्थिव जीवनको साङ्ग्रो सीमालाई उल्लङ्घन गर्ने; जहाँ देउताहरूसँग सहवास पाउँछ । क्षणमा अनन्तका धिप्का र साना-साना अवकाशमा असीमको नृत्य चाहने कलाकारलाई उनीहरूको मतमा बाह्य जीवनसँग थोरै सम्बन्ध छ र प्रकृतिको अनुकरण या जीवनका याथार्थिक दर्पणका रूपमा निस्कने रचनाहरूलाई उनीहरू तल्लो दर्जाका मान्दछन्‌ । कल्पना, उनका रायमा जीवनभन्दा रसिलो र सत्य सुन्दर छ र काल्पनिक सत्य व्यावहारिक सत्यभन्दा चौडा र प्रकाशिलो देखिन्छ ।

तर अरूहरू भन्दछन्‌ 'कला र जीवन छुट्टिन सक्तैनन्‌ ।' जीवन र प्रकृतिको दर्पण नै कला हो । कल्पना सम्भवको सीमाभित्र काम गर्दछ र जीवनको मुटु छुन नसक्ने कलामा मानव-उपयोगिता देखिन्न । कलाको आत्मसमर्थन जीवनको उल्लासकता जीवन र भावुक उत्थापनमा निर्भर रहन्छ । कलाकार खालि हावामा उडेर रचना गर्दैन तर जीवनका सामग्रीलाई लिएर नव-नव सिर्जना गर्न रङ्ग-रङ्गेली कल्पनाको सहायता लिन्छ । अनि सपनाहरू पनि बिपनासँग सम्बन्ध राख्दछन्‌ र बाह्य तथा आभ्यन्तरिक जगत्‌को घनिष्ठ अविच्छेद्य सम्बन्ध हरहमेशा रहेकै देखिन्छ, जस्तो शरीर र आत्मा छुट्टयाउन सकिन्न, उस्तै कला र जीवनलाई अलग गराउन सकिन्न । सजीवता नहुनु कलाको दोष हो र जति मात्रामा जीवनको निजी आनन्दको रहस्य उद्घाटन गरेको देखिन्छ उति मात्रामा कलाले उच्चपना लिन्छ । त्यसउपर राष्ट्रिय जीवन कलाद्वारा अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि कला जीवनको स्‌न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही मिल्दैन ।

न त, उनीहरू भन्दछन्‌ 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, त्यो कलाकार हुन्‌ असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्‌, र तिनैका सदस्यहरूको सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति देखाउँछन्‌ । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन्‌ । 'म आफ्नै निमित्त गाउँछु र दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्‌, र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।

तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌ भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको हुनाले सच्चा आँखादार यथार्थवादी ठूलो कलाकार हुँदैन भन्न असजिलो कुरा छ । तैपनि उल्था र सोझो उतारी कलाको दर्जामनितिर रहेका छन्‌ र बोक्रे चित्रणमा वस्तुको भित्री आत्मा बोल्दैन । अनुकरणबाट बच्नै पर्दछ नत्र प्रकृति र जीवनले पनि हँस्सी उडाउँछन्‌ । चुनौती चातुरी, झल्का टिप्ने आँखा, अन्त:सम्बन्ध होश गर्ने भावुकता, मुटुको धड्कन छाम्ने हात, भित्री ध्वनि सुन्ने कानविनाका सर्वसाधारण चित्रकारीहरू फूललाई फूल मात्रै देख्तछन्‌ र त्यसभन्दा बढ्ता केही भेट्टाउँदैनन्‌ । उनीहरू मोटा रङ्ग भन्दछन्‌; रङ्गको मिहीन बाँडफाँड जसका सच्चा जादू छ, त्यो भेट्टाउन सके परब्रह्मबाट धेरै टाढा मानवआत्मा रहँदैन । हरेक चीजमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो । जीवन भन्नु सर्वसाधारण चेतको सांसारिक बोक्रेपन होइन, तर सत्य र रहस्य मिलेको त्यो सासफेर्दो चीज हो, जो सच्चा कलाले देखाउँछ । उच्चतर जीवनको प्रदर्शन कला हो भन्नु शायद सत्यनजीकै आउन सक्तछ । तर जीवन एउटा अस्पष्ट शब्द हो ।

आखिरमा हामी यत्ति आलोचना गर्न चाहन्छौं कि कला र जीवनमा अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि कलामा उच्चतर जीवनको चित्रण पाइन्छ । कलाको आत्मसमर्थन जीवनलाई उचाल्नु र भर्नुमा छ; र आनन्द दिनु र हृदयकेन्द्रलाई छोएर उच्च बोधद्वारा नैतिक शिक्षण बन्न जानु उच्च कलाको लक्षण हो । हामी कल्पनालाई जसरी जीवनबाट छुट्टयाउन सक्तैनौं तर हरहमेशा कल्पनाको पोषणद्वारा पुष्टि दिन्छौं त्यस्तै कलाको जीवनबाट बिलकुल विच्छेद गर्न सक्तैनौं, कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा पर्दछ, आफ्नो जीवनको सारांश झल्काउँछ र आफ्नो घामपानीको हिस्साबाट फुलेका चीजहरूबाट सुगन्ध फैलाउँछ। व्यक्तित्वविना कलाकार हुनु, सिर्जनात्मक कल्पनाविना रचयिता हुनु, दुवै असम्भव कुरा छन्‌; र जहाँ मेरो रचना कलाको दर्जा पाउँछन्‌, त्यहाँ जीवन आफ्नै रहस्यचेती भावहरूको ऐंडीमा आत्मप्रकाशन लिंदै गद्‌गदाएर दुनियाँको भविष्यसँग बोल्दछ । त्यस्तै कुनै जातिका जीवनको अध्ययन गर्नलाई मलाई त्यस जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जीवन छ, उत्तम जीवनमा कला छ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।